
क्यानाडाको नोभा स्कोसियास्थित एक तालको पिँधमा खसेको १४ क्यारेट सुनको वैवाहिक औंठी एक मेटाल डिटेक्टर सञ्चालकको सहयोगमा सकुशल फेला पारिएको छ। अमेरिकाको लुइसियानाका बासिन्दा जेफ ड्यागलारिसले नोभा स्कोसिया भ्रमणका क्रममा हराएको आफ्नो बहुमूल्य औंठी खोज्न इन्टरनेटमार्फत सहयोग मागेपछि रोयल क्यानेडियन नेभीका प्राविधिक नेथ म्याक्लागनले उक्त औंठी फेला पारिदिएका हुन्।
म्याक्लागन क्यानेडियन नौसेनामा हतियार प्राविधिकका रूपमा कार्यरत छन् र विगत दुई दशकदेखि मेटाल डिटेक्टिङको शौकिया कार्य गर्दै आएका छन्। ड्यागलारिस गत जुन महिनामा तालिमका लागि नोभा स्कोसिया पुगेका थिए। सो क्रममा उनी र उनका साथीहरू म्याक्लागनको घरभन्दा करिब १३० किलोमिटर पश्चिममा रहेको केजिमकुजिक राष्ट्रिय निकुञ्जको एक टापु वरिपरि कायाकिङ गर्दै पानीमा उफ्रिने क्रममा उनको औंठी खसेर तालमा हराएको थियो।
विवाह भएको साढे तीन वर्षदेखि औंठी कहिल्यै ननिकालेका ड्यागलारिस र उनका साथीहरूले सुरुमा आफैँ खोज्ने प्रयास गरेका थिए। तर पानी अध्याँरो र धमिलो हुनुका साथै आवश्यक गोताखोर उपकरण नभएका कारण उनीहरू असफल भए। त्यसपछि ड्यागलारिसले आफ्नो फोनमा सो स्थानको लोकेसन चिन्ह लगाएर इन्टरनेटमा मद्दत खोज्दा म्याक्लागनको बारेमा थाहा पाएका थिए।
म्याक्लागनले आफ्नो गोताखोर उपकरण, मेटाल डिटेक्टर र ड्यागलारिसले पठाएका तस्बिरका आधारमा दुई घण्टाको यात्रा गरी सो टापुमा पुगेर खोजतलास सुरु गरेका थिए। पानीभित्र पसेको केही मिनेटभित्रै उनले तालको पिँधमा टल्किरहेको औंठी फेला पारेका थिए।
ड्यागलारिस ह्यालिफ्याक्स विमानस्थलबाट आफ्नो घर फर्कन जहाज चढ्नै लाग्दा म्याक्लागनले फेला परेको औंठीको तस्बिर पठाएका थिए। हराइसकेको औंठी सही समयमा पुनः प्राप्त भएपछि ड्यागलारिस र उनकी पत्नी टेलरले निकै खुसी व्यक्त गरेका छन्। म्याक्लागनले गत वर्ष पनि १३ वटा यस्ता हराएका वस्तुहरू खोजेर धनीलाई बुझाइसकेका छन् भने यस वर्ष २५ वटा हराएका सामान फेला पार्ने लक्ष्य राखेका छन्। (नेपालटचबाट)



















