देवानगन्जमा घाँस काट्न गएकी महिलालाई ढुंगाले लाग्यो, तनावको सम्भावनासँगै बढाइयो सुरक्षा सतर्कता

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १७, आइतबार १४:१५
ढुंगाले लागेर घाइते भएकी सरस्वतीकुमारी मेहता ।

विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–४ कप्तानगन्जमा आइतबार घाँस काट्न गएकी महिलालाई ढुंगाले लागेको विषयलाई लिएर फेरि तनावको स्थिति उत्पन्न हुने सम्भावना बढेको छ ।

ढुंगाले लागेर देवानगन्ज–४ की ३३ वर्षीया सरस्वतीकुमारी मेहता घाइते भएकी छन् । उनको टाउकोमा चोट लागेको छ । सामान्य अवस्थाकी उनलाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पतालमा भर्ना गरिएको छ ।

Advertisement

घाँस काट्न गएका बेला बिहान ११ः३० बजेतिर गुलेलीले हानेको ढुंगाले लागेर टाउको फुटेको स्थानीयको भनाइ छ । तर, ढुंगा कसले हान्यो भन्ने यकिन नभएको प्रहरीले जनाएको छ । घटनापछि करिब एक सय पचास जनाको संख्यामा स्थानीय कप्तनागन्जमा भेला भएर ग्याँटिसबाट ढुंगा प्रहार गर्नेलाई कारबाही हुनुपर्ने माग गरिरहेका छन् ।

‘घटनापछि केही मानिसहरु भेला हुने क्रम चलिरहेको छ । आफ्नो काम गरिरहेकी महिलालाई ढुंगा हानिएको भनेर विरोध जनाउने काम भइरहेको छ । फेरि तनावको सम्भावना बढेर गएको देखिन्छ,’ प्रहरी स्रोतले भन्यो । स्थानीयको भिड बढ्दै गएपछि इलाका प्रहरी कार्यालय देवानगन्जका इन्स्पेक्टर प्रकाश पराजुली नेतृत्वको टोली घटनास्थलमा खटिएको छ ।

प्रहरीले भिडलाई सम्झाइबुझाइ गरिरहेको छ । तर, भिड आक्रोशित हुँदै ढुंगा प्रहार गर्नेलाई कारबाही हुनुपर्ने माग राख्न थालेपछि परिस्थिति खलबलिने सम्भावना बढेको प्रहरीको भनाइ छ । घटनास्थल वरपरको सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रहरीले गुलेलीबाट ढुंगा हान्नेको पहिचान र खोजी भइरहेको जनाएको छ ।

दुई समूहबीचको विवादले हिंसात्मक झडप निम्त्याएपछि नियन्त्रणमा लिने क्रममा गत साउन १० गते राति सशस्त्र प्रहरीले चलाएको गोली लागेर घाइते भएकामध्ये बिहीबारसम्म दुई जनाको मृत्यु भएको थियो । गोली लागेका आठ जनाको उपचार जारी छ ।

घटनापछि सोमबार र मंगलबार सुनसरीका विभिन्न स्थानमा आगजनी, आक्रमण, तोडफोड र लुटपाटका घटना भए । परिस्थिति पूर्ण रूपमा साम्य भइनसकेको भन्दै स्थानीयले प्रशासनले निषेधाज्ञा लागू गरिरहेको छ । तनावपूर्ण बनेको सुनसरीको अवस्था सामान्य बन्दै गइरहेका बेला फेरि अर्को घटना भएको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.