
एउटै कोठामा सुतिरहेका वा सँगै बसेका साथीहरूमध्ये कसैलाई लामखुट्टेले हैरान पार्छ भने कोहीचाहिँ आरामले सुतिरहेका हुन्छन् । यस्तो दृश्य धेरैले भोगेका छन् । ‘मेरो रगत मिठो छ, त्यसैले मलाई मात्र टोक्छ’ भन्दै धेरैले यसलाई रगतको स्वादसँग जोड्ने गर्छन् । तर विज्ञानले यो धारणा पूर्ण रूपमा गलत भएको स्पष्ट पारेको छ । लामखुट्टेले मानिस छान्नुको पछाडि रगतको स्वाद होइन, शरीरबाट बाहिरिने केही प्राकृतिक जैविक सङ्केत जिम्मेवार हुन्छन् ।
वैज्ञानिक अनुसन्धानअनुसार पोथी लामखुट्टेले अण्डा उत्पादनका लागि आवश्यक प्रोटिन प्राप्त गर्न मानिस वा जीवजन्तुको रगत चुस्ने गर्छ । उनीहरूले करिब १० मिटर टाढाबाटै मानिसले श्वास फेर्दा फाल्ने कार्बन डाइअक्साइड ग्याँसको गन्ध महसुस गर्न सक्छन् । बालबालिकाको तुलनामा वयस्क मानिसले बढी श्वास फेर्ने र धेरै कार्बन डाइअक्साइड निकाल्ने हुनाले उनीहरू लामखुट्टेको सजिलो निशानामा पर्छन् ।
कार्बन डाइअक्साइडबाहेक लामखुट्टे शरीरको तापक्रमतर्फ पनि उत्तिकै आकर्षित हुन्छन् । गर्भवती महिलाको शरीरको तापक्रम सामान्यभन्दा केही बढी हुने र उनीहरूले बढी कार्बन डाइअक्साइड पनि फाल्ने हुनाले उनीहरूलाई लामखुट्टेले बढी टोक्ने जोखिम रहन्छ । त्यस्तै व्यायाम वा खेलकुद गर्दा शरीर तातो हुने, धेरै पसिना आउने र श्वासप्रश्वास छिटो हुने भएकाले शारीरिक रूपमा सक्रिय व्यक्ति पनि लामखुट्टेको प्राथमिकतामा पर्छन् ।
‘रगत मिठो’ भन्ने भ्रम चिर्दै वैज्ञानिकहरूले छालाबाट निस्कने बासना नै लामखुट्टे आकर्षित हुनुको मुख्य कारण भएको बताएका छन् । मानिसको छालामा रहने सूक्ष्म जीव र पसिना मिलेर विभिन्न रासायनिक पदार्थ उत्पादन गर्छन्, जुन हावामा फैलन्छन् । अमेरिकाको रकफेलर विश्वविद्यालयको एक अध्ययनले केही व्यक्तिको छालामा कार्बोक्सिलिक एसिडको मात्रा प्राकृतिक रूपमै बढी हुने र यस्ता रसायन उत्पादन गर्ने मानिसहरू लामखुट्टेका लागि सय गुणासम्म बढी आकर्षक हुने देखाएको छ ।
यता लामखुट्टेको टोकाइपछि सबैको शरीरमा एकै किसिमको प्रतिक्रिया देखिँदैन । कसैको छालामा ठूलो रातो डाबर आएर अत्यधिक चिलाउँछ भने कसैलाई सामान्य दाग मात्र देखिन्छ । यो मानिसको प्रतिरक्षा प्रणाली र आनुवंशिक गुणमा भर पर्छ । कतिपयलाई लामखुट्टेले कमै टोकेको भए पनि उनीहरूको शरीरले टोकाइप्रति कडा प्रतिक्रिया जनाउने भएकाले धेरै टोकेको महसुस हुने गर्छ ।

























