उपचाररत अवस्थामा घाइते रवीन्द्रकुमार मेहता ।विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा सशस्त्र प्रहरीको गोली लागेर घाइते भएकामध्ये आठ जना अहिले पनि उपचाररत छन् । आठ जनामध्ये छ जनाको विराटनगर र दुई जनाको काठमाडौंमा उपचार भइरहेको छ ।
देवानगन्ज–३ का २१ वर्षीय रवीन्द्रकुमार मेहताको काठमाडौंको टिचिङ अस्पतालमा उपचार भइरहेको छ । विराटनगरको विराट नर्सिङ होमबाट रेफर गरेर उनलाई थप उपचारका लागि शुक्रबार काठमाडौं लगिएको थियो ।
स्वास्थ्य अवस्था जटिल रहेकाले स्वास्थ्य उपकरण र चिकित्सकको निगरानीमा रवीन्द्रलाई एयर एम्बुलेन्समार्फत काठमाडौं पुर्याइएको हो । उपचारमा संलग्न दाजु (ठूलोबुवाको छोरा) रोशन मेहताका अनुसार रवीन्द्रको स्वास्थ्यमा सुधार हुन सकेको छैन ।
चिकित्सकका अनुसार रवीन्द्रको बायाँ तिघ्रामा गोली लागेर नसामा गम्भीर चोट पुगेको थियो । विराटमै नसाको शल्यक्रिया सम्पन्न भए पनि अवस्था गम्भीर बन्दै गएपछि थप उपचारका लागि काठमाडौं लगिएको हो ।
उपचारका क्रममा रवीन्द्रले गोली लागेको बायाँ खुट्टा गुमाएका छन् । उपचारमा संलग्न अर्का दाजु (ठूलोबुवाको छोरा) राजेश मेहताका अनुसार चिकित्सककै सल्लाह बमोजिम टिचिङ अस्पतालमा शल्यक्रिया गरेर खुट्टा फालिएको हो । ‘गोली लागेको खुट्टा काटेर फाल्नु पर्यो । स्वास्थ्य अवस्था जटिल छ । सुधार हुन सकिरहेको छैन,’ उनले भने ।
अर्का घाइते देवानगन्ज–३ का १८ वर्षीय अमित यादवको काठमाडौंकै ट्रमा सेन्टरमा उपचार भइरहेको छ । विराटनगरको नोबेल शिक्षण अस्पतालबाट रेफर गरेर उनलाई नेपाली सेनाको स्काई ट्रकमार्फत उपचारका लागि बिहीबार साँझ काठमाडौं लगिएको थियो ।
नोबेलमै उपचाररत अवस्थामा स्वास्थ्य थप जटिल बन्दै गएपछि काठमाडौं लगिएका अमितको बायाँ हात र कोखामा गोली लागेको चिकित्सकले बताएका छन् । उपचारमा संलग्न छिमेकी जनार्दन यादवका अनुसार अमितको स्वास्थ्य अवस्थामा केही सुधार भए पनि हात हटाउनुपर्ने अवस्था आउनसक्ने जानकारी चिकित्सकले गराएका छन् ।
‘स्वास्थ्यमा केही सुधार भएर अमित बोल्न थालेका छन् । उपचार जारी छ । तर, चिकित्सकले गोली लागेको हात फाल्नुपर्ने अवस्था आउन सक्छ भनेर भनेका छन्,’ जनार्दनले भने । हात राख्ने कि हटाउने भन्ने विषयमा चिकित्सकहरुबीच परामर्श भइरहेको जानकारी उनले दिए ।
रवीन्द्र र अमितबाहेक अन्य छ जना घाइतेको विराटनगरको न्युरो अस्पताल र विराट नर्सिङ होममा उपचार भइरहेको छ । न्युरोमा देवानगन्ज–४ का १८ वर्षीय मिथिलेश मेहता, २२ वर्षीय हरेराम यादव र देवानगन्ज–३ का १८ वर्षीय अमलेश मेहताको उपचार भइरहेको छ ।
चिकित्सकका अनुसार मिथिलेशको पेटमा गोली लाग्दा आन्द्रा बाहिर निस्किएको थियो । उनको शल्यक्रिया गरेर गोली निकालिएको छ । हाल आईसीयूमा उपचाररत उनको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ ।
हरेरामको दुवै तिघ्राको बीच भाग (काप)मा गोली लागेको चिकित्सकले बताएका छन् । शल्यक्रिया सम्पन्न भइसकेका उनको अवस्था सामान्य छ । अमलेशको बायाँ पिठ्युँमा गोली लागेको थियो । शल्यक्रिया सम्पन्न भइसकेका उनले पनि अवस्था सामान्य छ ।
विराट नर्सिङ होममा देवानगन्ज–३ का २५ वर्षीय सुनील मेहता, देवानगन्ज–४ का १८ वर्षीय अमितकुमार यादव र २६ वर्षीय सुनील मेहताको उपचार भइरहेको छ । २५ वर्षीय सुनीलको बायाँ घुँडामुनिको पछाडिको भागमा गोली लागेको छ । उनको अवस्था सामान्य रहेको छ ।
अमितकुमारको कम्मरको अगाडिबाट गोली लागेर पछाडिबाट निस्किएको चिकित्सकले बताएका छन् । नर्सिङ होमका अनुसार शल्यक्रिया सम्पन्न भइसकेका उनको अवस्था सामान्य छ । २६ वर्षीय सुनीलको बायाँ हातको कुहिनामा गोली लागेको छ । शल्यक्रिया भइसकेका उनको अवस्था पनि सामान्य रहेको चिकित्सकले बताएका छन् ।
दुई पक्षबीच भएको विवाद हिंसात्मक झडपमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन साउन १० गते आइतबार राति सशस्त्र प्रहरीले चलाएको गोली लागेर १० जना युवा घाइते भएका थिए । घाइतेमध्ये देवानगन्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको केहीबेरमा मृत्यु भएको थियो । देवानगन्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको पनि उपचारका क्रममा बिहीबार दिउँसो न्युरो अस्पतालमा मृत्यु भयो ।
सरकारसँग सहमति भइसकेपछि दुवै जनाको शव जिम्मा लिएर परिवारले शुक्रबार राति अन्त्येष्टि गरिसकेका छन् । प्रहरीका अनुसार घटनामा सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएका थिए ।
घटनापछि सुनसरीका विभिन्न स्थानमा आगजनी, तोडफोड, लुटपाट तथा व्यक्ति लक्षित आक्रमणका घटना भएका थिए । दुई दिनसम्म आगजनी, तोडफोड र आक्रमणका घटना हुँदा अवस्था तनावग्रस्त भएर जनजीवन प्रभावित बनेको थियो भने सर्वसाधारण त्रासपूर्ण वातावरणमा बस्न बाध्य भएका थिए । अहिले अवस्था क्रमशः सामान्य बन्दै गइरहेको सुनसरी प्रहरीका सूचना अधिकारी, डीएसपी चन्द्रबहादुर खड्काले बताए ।

























