
काठमाडौं । आगामी तीन दिन देशका विभिन्न स्थानमा वर्षा तथा केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ। विभागका अनुसार आज (सोमबार) देशका पहाडी भू-भागका एक-दुई स्थान तथा लुम्बिनी प्रदेशको तराईका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
यस्तै, कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाडी र तराईका एक-दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। विभागकी प्रवक्ता विभूति पोखरेलका अनुसार विगत २४ घण्टामा देशका अधिकांश स्थानमा मध्यम वर्षा भएको छ भने केही स्थानमा भारीदेखि धेरै भारी वर्षा मापन भएको छ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराईका एक-दुई स्थान र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा धेरै भारी वर्षा हुन सक्ने विभागद्वारा जारी मौसम बुलेटिनमा उल्लेख छ।
मङ्गलबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भाग र मधेस प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। बुधबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाडी र तराईका एक-दुई स्थानमा भारी वर्षा हुने विभागको पूर्वानुमान छ।
विभागले काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा बहने स-साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक भएर बहने स-साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च जोखिम छ।
यसैगरी ताप्लेजुङ, झापा, धनकुटा, सङ्खुवासभा, सोलुखुम्बु, उदयपुर, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, मकवानपुर, गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा, पाल्पा, गुल्मी, चितवन, नवलपरासी ९पूर्व०, नवलपरासी ९पश्चिम० तथा आसपासका जिल्ला भई बहने स-साना नदीमा बहाव बढेर आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान छ।
उच्च जोखिम भएका क्षेत्रमा नदी तटीय बस्ती, होचा भूभाग तथा खोलानाला आसपासका बासिन्दालाई विशेष सतर्कता अपनाउन र आवश्यक परे सुरक्षित स्थानमा जान तयारी अवस्थामा रहन विभागले अनुरोध गरेको छ। मध्यम जोखिम रहेका जिल्लामा नदी किनारमा अनावश्यक आवतजावत नगर्न र यात्रा गर्दा सावधानी अपनाउनसमेत आग्रह गरिएको छ।

























