सुनकोशीमा खसेका ३ जना अझै फेला परेनन्

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १९, मंगलबार ११:१२

सिन्धुली। सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गबाट सुनकोशी नदीमा कार खसेर हराएका तीनै जना अझै फेला परेका छैनन्। नदीमा डुबेको कार र त्यसमा सवार यात्रुको अझै अत्तोपत्तो पाउन सकिएको छैन।

सोमबार मध्यान्ह प्रदेश–३–०१–०२४ च ९५७३ नम्बरको कार सडकबाट करिब ५० मिटर तल सुनकोशी नदीमा खसेको थियो। काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बागमती प्रदेश–०८–००१ ख ०१४४ नम्बरको बसले ठक्कर दिँदा कार नदीमा खस्न पुगेको हो।

Advertisement

अहिलेसम्म फेला नपरेकाहरूमा कार चालक सिन्धुपाल्चोकको जुगल–७ का ३९ वर्षीय दिलबहादुर लामा, सिन्धुलीको गोलञ्जोरका करिब २८ वर्षीय गणेश थापा र सिन्धुलीको तिनपाटन गाउँपालिका–९ का १७ वर्षीय सुजन बलमपाकी मगर छन्। नदीमा बेपत्ता भएकाहरूको खोजीका लागि डीएसपी विजय श्रेष्ठको नेतृत्वमा टोली परिचालन गरी तीव्र पारिएको सिन्धुलीका प्रहरी प्रमुख (एसपी) रविन्द्र सिंहले बताए।

यसैबीच रोकिराखेको कारलाई ठक्कर दिने बस र त्यसका चालक फिक्कल गाउँपालिका–६ का २६ वर्षीय हेमबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.