कप्तानगन्ज गोलीकाण्डमा ज्यान गुमाउनेको संख्या तीन पुग्यो, रवीन्द्रकुमार मेहताको पनि काठमाडौंमा मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १९, मंगलबार १२:२३
उपचाररत अवस्थामा रवीन्द्रकुमार मेहता ।

विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्ज गोलीकाण्डमा मृत्यु हुनेको संख्या तीन पुगेको छ । घाइतेमध्ये देवानगन्ज–३ का २१ वर्षीय रवीन्द्रकुमार मेहताको पनि उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको छ ।

रवीन्द्रलाई उपचारका लागि विराटनगरको विराट नर्सिङ होमबाट गत शुक्रबार काठमाडौं लगिएको थियो । त्रिवि शिक्षण अस्पताल काठमाडौंमा उपचाररत उनको उपचारकै क्रममा मृत्यु भएको जानकारी चिकित्सकले बिहान ११ बजेतिर दिएको दाजु (ठूलोबुवाका छोरा) राजेशले बताए ।

Advertisement

अवस्था जटिल रहेकाले स्वास्थ्य उपकरण र चिकित्सकको निगरानीमा एयर एम्बुलेन्समार्फत काठमाडौं पुर्याइएका उनलाई चिकित्सकले बचाउन नसकेको राजेशको भनाइ छ । ‘रवीन्द्रको स्वास्थ्यमा सुधार हुन सकेको थिएन । बायाँ खुट्टा यसअघि नै काटिएको थियो । मंगलबार बिहान ११ बजेतिर चिकित्सकले मृत घोषणा गरिदिए,’ उनले भने ।

रवीन्द्रको शव कप्तानगन्ज ल्याउने प्रक्रिया अघि बढाइएको राजेशले बताए । उनका अनुसार बायाँ तिघ्रामा गोली लागेर नसामा गम्भीर चोट पुगेको जानकारी चिकित्कसले गराएका थिए । विराटमै नसाको शल्यक्रिया गरिएको थियो । खुट्टा नै काट्नुपर्ने भएपछि उनलाई टिचिङ अस्पताल लगेर उपचार सुरु गरिएको थियो ।

दुई पक्षबीच भएको विवाद हिंसात्मक झडपमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन साउन १० गते आइतबार राति सशस्त्र प्रहरीले चलाएको गोली लागेर १० जना युवा घाइते भएका थिए । घाइतेमध्ये देवानगन्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको केहीबेरमा मृत्यु भएको थियो । देवानगन्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको पनि उपचारका क्रममा बिहीबार दिउँसो विराटनगरको न्युरो अस्पतालमा मृत्यु भयो ।

रवीन्द्रको मंगलबार मृत्यु भएपछि कप्तानगन्ज घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको हो । सिरहासहित समग्र आन्दोलनमा ज्यान गुमाउनेको संख्या भने चार पुगेको छ । कप्तानगन्ज घटनामा घाइते भएकामध्ये सात जनाको उपचार जारी छ । देवानगन्ज–३ का १८ वर्षीय अमित यादवको काठमाडौंकै ट्रमा सेन्टरमा उपचार भइरहेको छ । नोबेलमै उपचाररत अवस्थामा स्वास्थ्य थप जटिल बन्दै गएपछि काठमाडौं लगिएका अमितको बायाँ हात र कोखामा गोली लागेको चिकित्सकले बताएका छन् ।

घाइतेमध्ये विराटनगरको न्युरो अस्पतालमा देवानगन्ज–४ का १८ वर्षीय मिथिलेश मेहता, २२ वर्षीय हरेराम यादव र देवानगन्ज–३ का १८ वर्षीय अमलेश मेहताको उपचार भइरहेको छ । विराट नर्सिङ होममा देवानगन्ज–३ का २५ वर्षीय सुनील मेहता, देवानगन्ज–४ का १८ वर्षीय अमितकुमार यादव र २६ वर्षीय सुनील मेहताको उपचार भइरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.