
काठमाडौं। प्रतिनिधि सभाको बैठकमा विभिन्न दलका सांसदहरूले भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले सुस्तास्थित नेपाली भूमिमा प्रवेश गरी स्थानीयलाई धम्क्याएको तथा भौतिक संरचनामा क्षति पुर्याएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराए।
साउन १७ गते सादा पोसाकमा आएका भारतीय एसएसबीका जवानहरूले नेपाली भूभागमा प्रवेश गरी स्थानीयले बनाएको संरचना भत्काएको र सर्वसाधारणलाई धम्क्याएको विरोधमा सांसदहरूले आपत्ति जनाए।
बैठकमा नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले सुस्तामा भारतीय सेना र एसएसबीले पटक-पटक दुःख दिने गरेको बताए। सादा पोसाकमा आएका एसएसबीले स्थानीयले बनाएको माटोको अस्थायी बाँध जबरजस्ती भत्काएको र आफ्नै भूमिमा काम गरिरहेका नेपालीलाई धम्क्याएको भन्दै उनले यो कार्य अत्यन्तै लज्जास्पद र दुःखद रहेको उल्लेख गरे।
सांसद बलावती शर्माले प्रधानमन्त्री बालेन्द्र शाहले जेठ १७ गते प्रतिनिधि सभा बैठकमा नेपालले पनि भारतको भूमि मिचेको छ भनी दिएको अभिव्यक्तिका कारण सीमा क्षेत्रमा एसएसबीको मनोबल बढेको र हेपाहा प्रवृत्ति मौलाएको दाबी गरिन्। प्रधानमन्त्रीको सो अभिव्यक्तिपछि सुस्तामा एसएसबीको मिचाहा प्रवृत्ति बढेको र आफ्नो माटो जोगाउन लडिरहेका सुस्तावासीलाई धम्क्याउँदा पनि सरकार मौन बसेको आरोप उनले लगाइन्।
सांसद हर्कराज राईले सुस्तामा भएको भारतीय हस्तक्षेपको विरोध गर्दै राष्ट्रियताको सवालमा सरकार गम्भीर हुनुपर्ने बताए। नेपाली भूमि मिचिँदा र नेपाली नागरिक असुरक्षित हुँदा पनि सरकारले प्रभावकारी कूटनीतिक पहल नगरेकोमा उनले आपत्ति जनाए।
त्यसैगरी, राप्रपाका सांसद ताहिर अली भाटले सीमा क्षेत्रमा नेपालीहरूले सधैँ डर र त्रासको वातावरणमा बस्नुपरेको उल्लेख गर्दै सुस्ता लगायतका क्षेत्रमा भारतीय पक्षबाट हुने अतिक्रमण र धम्की रोक्न सरकारसँग माग गरे।
सांसदहरूले सुस्तामा भएको पछिल्लो घटनाको सत्यतथ्य छानबिन गर्न, स्थानीय नेपाली नागरिकको सुरक्षा सुनिश्चित गर्न र सीमा अतिक्रमण तथा धम्की दिने कार्य तुरुन्त रोक्न भारत सरकारसँग कूटनीतिक संवाद गर्न माग गरे।

























