
काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को आज (बुधबार) बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण निर्णयहरू गरेको छ। बैठकले तथ्यांक (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गरेको छ। यस्तै लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा काठमा
काठमाडौंका याङ्की उक्याबलाई नियुक्त गर्ने निर्णय गरिएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा नेपाल इन्टरमोडल यातायात विकास समिति (गठन) आदेश, २०५४ खारेज गर्दै उक्त समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाभ्न स्वीकृति प्रदान गरिएको छ।
यसैगरी पशु बधशाला र मासु जाँच ऐन, २०५५ लाई चरणबद्ध रूपमा मुलुकभर लागू गर्ने निर्णय भएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको प्रस्तावमा बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिइएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिसमा विश्वविद्यालय अनुदान आयोगको रिक्त अध्यक्ष पदमा पर्वतका प्राध्यापक डा. खड्कबहादुर केसी र सचिव पदमा भोजपुरका प्राध्यापक डा. रोजेश श्रेष्ठलाई नियुक्त गरिएको छ।
मन्त्रिपरिषद् बैठकले सुनसरी र सिरहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका व्यक्तिका परिवार तथा घाइतेहरूलाई क्षतिपूर्ति, राहत र उपचारको व्यवस्था गर्ने निर्णयसमेत गरेको छ।
























