
विराटनगर । ३ जनाको ज्यान जानेगरी सुनसरीको देवानगन्ज गाउँपालिका-३ कप्तानगन्जमा चर्किएको साम्प्रदायिक तनावका क्रममा भौतिक क्षति पनि निकै भएको खुलेको छ । घटनामा ४० जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्र खड्काका अनुसार घाइतेमध्ये १२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने २५ जना उपचार गराएर घर फर्किएका छन्।
भिडन्त र तोडफोडका क्रममा सर्वसाधारणका ११२ वटा घर तथा भौतिक संरचना र ६९ वटा सवारीसाधनमा क्षति पुगेको छ। प्रहरीका अनुसार २३ वटा पक्की घरमध्ये १३ वटा पूर्ण रूपमा ध्वस्त भएका छन् भने ३४ वटा कच्ची घरमध्ये २५ वटा जलेर नष्ट भएका छन्। त्यस्तै ५० वटा घरटहरा, २ वटा मन्दिर, ५ वटा अन्य संरचना र एउटा इट्टाभट्टामा पनि तोडफोड तथा आगजनीबाट क्षति पुगेको छ।
प्रदर्शनकारीले ५२ वटा मोटरसाइकल तथा स्कुटर, ८ वटा सिटी सफारी र ४ वटा चारपाङ्ग्रे गाडीमा आगजनी तथा तोडफोड गरेका छन्। जसमध्ये ४४ वटा दुईपाङ्ग्रे र ५ वटा तीनपाङ्ग्रे सवारीसाधन पूर्ण रूपमा नष्ट भएका छन्।
कप्तानगन्जमा उपद्रव फैलिएपछि स्थिति नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको थियो। क्षेत्रमा सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल बाक्लो संख्यामा परिचालन गरिएपछि अहिले जनजीवन क्रमशः सामान्य बन्दै गएको छ। प्रहरीले घटनाको अनुसन्धान जारी राख्दै क्षतिको अन्तिम विवरण संकलन र राहत समन्वयको काम भइरहेको जनाएको छ।

























