
काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि बजेटमार्फत वृद्धि गरेको राष्ट्रसेवक कर्मचारीहरूको नयाँ तलबमान स्वीकृत गरेको छ । अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले गत साउन १ गतेदेखि लागू हुने गरी निजामती कर्मचारी, सुरक्षा निकाय, शिक्षक तथा प्रदेश र स्थानीय तहका कर्मचारीको नयाँ तलबमान र सुविधा स्वीकृत गरेको हो ।
नयाँ तलबमान अनुसार प्रशासनिक संयन्त्रको सर्वोच्च पद मुख्यसचिव र नेपाली सेनाका प्रधानसेनापतिको कुल तलब ९० हजार ५ सय ९४ रुपैयाँ पुगेको छ । त्यस्तै, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका महानिरीक्षक र सरकारका सचिवहरूको कुल तलब ८४ हजार ५ सय ७६ रुपैयाँ कायम भएको छ । सरकारी सेवामा सबैभन्दा तल्लो स्तरका श्रेणीविहीन कर्मचारी (कार्यालय सहयोगी) को कुल तलब ग्रेडसहित २८ हजार ९ सय ८४ रुपैयाँ पुगेको छ ।
सामुदायिक विद्यालयतर्फ माध्यमिक तह (प्रथम श्रेणी) को तलब ७४ हजार ९ सय ५८ र प्राथमिक तहका शिक्षकको न्यूनतम तलब ३४ हजार ४ सय २६ रुपैयाँ कायम भएको छ । स्वास्थ्य सेवातर्फ अधिकृत बाह्रौँ तहका कर्मचारीको तलब ८४ हजार ५ सय ७६ रुपैयाँ पुगेको छ ।
सरकारले नयाँ तलबमानका साथै १० प्रतिशत मासिक प्रोत्साहन भत्ताको पनि व्यवस्था गरेको छ । यस्तै, अवकाशप्राप्त कर्मचारीको पेन्सन रकममा पनि १० प्रतिशत नै वृद्धि भएको छ । अर्थ मन्त्रालयले २०८३ साउन १ देखि नै गणना हुने गरी नयाँ तलबमान अनुसार भुक्तानी गर्न सबै निकायलाई निर्देशन दिइसकेको छ ।
























