
काठमाडौं । राष्ट्रिय सभामा गृहमन्त्री सुधन गुरुङले सांसदहरूलाई प्रश्न नसोध्न चेतावनी दिएको विषयप्रति नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाएको छ। बिहीबारको बैठकमा गृहमन्त्रीले दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै कांग्रेस सांसद रञ्जित कर्णले मन्त्रीको उक्त व्यवहार असंवैधानिक र अलोकतान्त्रिक भएको बताए।
बैठकमा बोल्दै सांसद कर्णले लोकतान्त्रिक र संसदीय व्यवस्थामा जनताका समस्याबारे मन्त्री तथा प्रधानमन्त्रीसँग प्रश्न सोध्ने माध्यम नै सांसदहरू भएको स्पष्ट पारे। निर्मला पन्त हत्या प्रकरणलगायतका विषयमा सार्वजनिक रूपमा प्रश्न नसोध्न र व्यक्तिगत रूपमा भेट्न भनी गृहमन्त्रीले दिएको वक्तव्यप्रति आपत्ति जनाउँदै उनले मन्त्रीले सांसदलाई प्रश्न सोध्नबाट रोक्न नमिल्ने बताए।
दुई तिहाइ नजिकको सरकारका मन्त्रीले संसद्मा उठेका प्रश्नको जवाफ दिनुको साटो उल्टै सांसदहरूलाई नै चेतावनी दिनुले सरकारको जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएको उनले उल्लेख गरे। मन्त्रीलाई जवाफ दिनु जरुरी नभए पनि प्रश्न सोध्न पाउने अधिकार सांसदहरूसँग सुरक्षित रहेको कर्णको भनाइ थियो।



















