बढ्दो हिंसा र हराउँदै गएको मानवीय संवेदना

Share this
785shares
मुलुकी खबर
एन्जु शिवाकोटी
clock२०८३ श्रावण २१, बिहीबार १९:०९
प्रतीकात्मक तस्बिर

विराटनगर । बिहान उठ्नेबित्तिकै मोबाइल वा पत्रिकामा देखिने समाचारले मन चिसो बनाउँछ। कतै आफ्नै बाबुले बालिकामाथि यौन हिंसा गरेको खबर भेटिन्छ, कतै सामान्य विवादमा श्रीमानले श्रीमतीको हत्या गरेको घटना। कतै बोक्सीको आरोपमा महिलामाथि कुटपिट भएको छ भने कतै सम्पत्तिका लागि आफ्नै दाजुभाइबीच हत्या भएको घटना सार्वजनिक हुन्छ।

यस्ता समाचार अहिले अपवाद होइनन्, लगभग दैनिकजसो सुनिन थालेका छन्। यसले समाजबाट दया, करुणा, सहयोग, सम्मान र सहअस्तित्वजस्ता मानवीय मूल्य हराउँदै गएको त होइन भन्ने प्रश्न खडा गरेको छ।

भौतिक विकास र व्यक्तिगत सफलताको दौड बढ्दै जाँदा सामाजिक र मानवीय भावना कमजोर बन्दै गएको तथ्यांकले पनि पुष्टि गर्छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को नेपाल मानव अधिकार वर्षपुस्तक-२०२६ अनुसार सन् २०२५ मा देशभर ११ हजारभन्दा बढी मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटना अभिलेख भएका छन्।

प्रतिवेदनमा १०३ जनाको घरेलु विवादका कारण हत्या, १४४ दाइजोसम्बन्धी हिंसाका घटना र १ हजार ३४९ बालअधिकार उल्लंघनका पीडितको विवरण उल्लेख छ। महिला तथा बालबालिकामाथिको हिंसा, जातीय विभेद, दण्डहीनता र अभिव्यक्ति स्वतन्त्रतामाथिका चुनौती अझै पनि गम्भीर रहेको प्रतिवेदनले देखाउँछ।

चिन्ताको विषय के छ भने यस्ता घटनाप्रति समाज पनि विस्तारै असंवेदनशील बन्दै गएको छ। केही वर्षअघिसम्म जघन्य अपराधले देशभर बहस सिर्जना गर्थ्यो भने अहिले हत्या, बलात्कार वा घरेलु हिंसाका विषय दैनिक समाचारको नियमित सूचीमा सीमित हुन थालेका छन्। कतिपय अवस्थामा दुर्घटनामा परेकालाई सहयोग गर्नुको सट्टा भिडियो खिचेर सामाजिक सञ्जालमा राख्ने प्रवृत्तिले मानवीय संवेदनामा आएको ह्रासलाई प्रष्ट पार्छ।

यस्तै परिवारभित्रै पनि घरेलु हिंसा, बालबालिकामाथिको दुर्व्यवहार, वृद्धवृद्धाको उपेक्षा र सम्पत्तिका कारण हुने विवादले आपसी विश्वास कमजोर बनाइरहेको छ। प्रविधिको बढ्दो प्रयोगले मानिसलाई संसारसँग जोडे पनि आफ्नै परिवार र समाजबाट भने टाढा धकेलेको छ।

एउटै घरमा बसेर पनि सबै सदस्य मोबाइलमै व्यस्त हुने अवस्थाले आपसी संवाद, विश्वास र आत्मीयता घटाएको छ। सामाजिक सञ्जालमार्फत फैलिने घृणात्मक अभिव्यक्ति, ‘साइबर बुलिङ’ र गलत सूचनाले पनि समाजमा अविश्वास र असहिष्णुता बढाएको छ।

बढ्दो सामाजिक विकृति र हिंसाबारे विज्ञहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्। समाजशास्त्री डा. चन्द्र उपाध्याय पछिल्ला समयका हिंसात्मक घटनाले समाजमा बढ्दो असहिष्णुता, स्वार्थकेन्द्रित सोच र कमजोर बन्दै गएको सामाजिक सम्बन्धलाई उजागर गरेको बताउँछन्।

केही दिनअघि सुनसरीको कप्तानगन्जमा भएको घटनाले पनि सामान्य विवाद कसरी गम्भीर हिंसाको रूप लिन सक्छ भन्ने देखाएको उनको भनाइ छ। यस्ता घटनालाई केवल एउटा आपराधिक घटनाका रूपमा मात्र हेर्न नमिल्ने उल्लेख गर्दै उनले परिवार, विद्यालय र समुदायले मानवीय मूल्य र सामाजिक उत्तरदायित्वको संस्कार बलियो बनाउनुपर्नेमा जोड दिए।

इन्सेक कोशी प्रदेश कार्यालयका संयोजक मनोहरकुमार पोखरेल समाजमा हिंसाका घटना बढ्नु केवल कानुनी विषय मात्र नभई सामाजिक चेतना र संस्कारसँग पनि जोडिएको विषय भएको बताउँछन्। मानव अधिकारको सम्मान गर्ने संस्कार परिवार, विद्यालय र समुदायबाटै विकास हुनुपर्ने र हिंसालाई सामान्य रूपमा लिन थाले समाजमा असंवेदनशीलता अझै बढ्दै जाने उनको विश्लेषण छ।

यसैगरी मानव अधिकारकर्मी एवं अधिवक्ता कोशराज न्यौपाने हिंसाको मूल कारण कानुनको अभाव मात्र नभई समाजमा रहेको गलत सोच, दण्डहीनता र कमजोर सामाजिक उत्तरदायित्व भएको बताउँछन्। अपराध गर्ने व्यक्तिले कानुनी उन्मुक्ति पाउने अवस्था रहेमा पीडितले न्यायप्रतिको विश्वास गुमाउन सक्ने भएकाले प्रभावकारी अनुसन्धान, निष्पक्ष न्याय र दोषीमाथि कडा कारबाही हुनुपर्ने उनको भनाइ छ।

विज्ञहरूका अनुसार मानवताको संरक्षणका लागि कानुन कार्यान्वयनसँगै सामाजिक सोचमा परिवर्तन आवश्यक छ। अपराध गर्नेले सजिलै उन्मुक्ति पाउँदा र पीडितले न्याय पाउन कठिनाइ भोग्दा समाजमा कानुनप्रतिको विश्वास कमजोर हुने भएकाले परिवार, विद्यालय, समुदाय र राज्य सबै तहबाट सम्मान, सहानुभूति र जिम्मेवारीको संस्कार विकास गर्नुपर्ने देखिन्छ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×