
काठमाडौं । बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध बनेका छन्। नेपाल प्रहरीले शनिबार बिहान सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार कतै सडक आंशिक रूपमा सञ्चालनमा छ भने कतै पूर्ण रूपमा ठप्प छ।
काठमाडौंको नागार्जुन नगरपालिका-८ स्थित ठुलो खोलामा पहिरो जाँदा सितापाइला-धार्के सडक खण्ड एकतर्फी मात्र चलेको छ। कोशी प्रदेशको भोजपुरस्थित बोखिममा मध्यपहाडी लोकमार्ग एकतर्फी रूपमा सञ्चालनमा आयो। इलामको राजदुवालीमा मेची राजमार्ग र सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-१ मा निलदोर्जे पर्यटक सडक खण्ड पूर्ण रूपमा बन्द भए।
बागमती प्रदेशमा सम्भावित जोखिमलाई ध्यानमा राख्दै काभ्रेको बिपी राजमार्ग र मकवानपुरको कान्तिलोकपथमा रातिको समयमा सवारी साधन चलाउन रोक लगाइयो। सिन्धुपाल्चोकको चारकिलो, कोदारी र लिपिङमा पहिरो जाँदा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भयो। यस्तै, रसुवाको खाल्टेमा बाढीका कारण त्रिशुली-मैलुङ-स्याफ्रुबेँसी सडक र मकवानपुरको सिमातमा पहिरो जाँदा कान्तिलोकपथ सडक खण्ड ठप्प बनेको छ ।
गण्डकी प्रदेशको कालीगण्डकी करिडोरअन्तर्गत बागलुङको बेलबगर र नवलपरासी पूर्वको गैँडाकोटमा पहिरो खस्दा एकतर्फी रूपमा गाडी चले। मुस्ताङको केकु खोलामा पहिरो जाँदा बेनी-जोमसोम सडक र लमजुङको श्रीचौरमा पहिरो जाँदा बेसिशहर-मनाङ सडक पूर्ण रूपमा अवरुद्ध छ।
लुम्बिनी प्रदेशको पाल्पास्थित गोँडपुलमा सिद्धार्थ राजमार्ग र गुल्मीको लेखमा मदन भण्डारी सडक खण्ड पहिरोका कारण एकतर्फी मात्र सञ्चालनमा आएको छ । कर्णाली प्रदेशका विभिन्न स्थानमा पनि बाढीले सडक अवरुद्ध पारेको छ । रुकुम पश्चिमको रिजेगार्ड खोलामा आएको बाढीले भेरी करिडोरअन्तर्गत जाजरकोट-डोल्पा सडक खण्ड र मुगुको छायाँनाथ रारामा बाढी आउँदा नाग्म-गमगढी सडक पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ।

























