
विराटनगर। सुनसरीको बराहक्षेत्र नगरपालिकाबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित चार जनालाई नियन्त्रणमा लिएको छ। शनिबार बिहान इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बराहक्षेत्र नगरपालिका-१ स्थित गुप्त बराह-चतरा भित्री सडक खण्डमा गाँजा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले चेकिङ बढाएको थियो। सोही क्रममा बराहक्षेत्रबाट चतरातर्फ जाँदै गरेको प्रदेश १-०२-००२ च ४८५१ नम्बरको कार र को ११ प ५६०१ नम्बरको मोटरसाइकललाई रोकी जाँच गर्दा २२ वटा प्लास्टिकका पोकामा लुकाइराखेको ४१८ किलो गाँजा फेला परेको छ।
पक्राउ पर्नेहरूमा कार चालक सुनसरीको धरान उप-महानगरपालिका-१३ का ३४ वर्षीया थमन राई, कारमा सवार ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका-५ कि २२ वर्षीया जीवनी राई, मोटरसाइकल चालक मोरङको कटहरी गाउँपालिका-३ का २६ वर्षीय अमर कामत र मोटरसाइकलमा पछाडि सवार सोही ठाउँका ३८ वर्षीय शंकर चौधरी रहेका छन्।
पक्राउ परेका व्यक्तिहरू, गाँजा र दुवै सवारी साधनलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिएका छन्।

























