
काठमाडौं । शुक्रबारदेखि सम्पर्कविहीन बनेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंहको खोजीमा प्रहरीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट तालिमप्राप्त कुकुर झिकाएर परिचालन गरेको छ। साथै सम्भावित क्षेत्रहरूमा ड्रोनमार्फत समेत कडा निगरानी भइरहेको प्रहरीले जनाएको छ।
गोरुसिंगे क्षेत्रको जङ्गलमा खोजी कार्यमा खटिएका कपिलवस्तु प्रहरी प्रमुख एसपी मनोहर भट्टका अनुसार विमानस्थलको केनाइन शाखाबाट ट्र्याकिङ डगसहितको प्राविधिक टोली ल्याएर जङ्गल क्षेत्रमा सघन खोजी भइरहेको छ। यद्यपि निरन्तरको प्रयासका बाबजुद उनको अवस्था अझै पत्ता लाग्न सकेको छैन।
६५ वर्षीय सिंह शुक्रबार दिउँसो २ बजेतिर कपिलवस्तु–३ स्थित आफ्नै घरबाट निस्किएका थिए। दिउँसो साढे तीन बजेतिर उनले आफ्ना निकट व्यक्तिहरूलाई फोन गरेर जङ्गलमा बाटो बिर्सिएको जानकारी दिएका थिए।
त्यसलगत्तै आफन्त र प्रहरी टोली खोजीमा जुट्दा पूर्वपश्चिम राजमार्गबाट करिब आठ किलोमिटर भित्र जङ्गल क्षेत्रमा उनले प्रयोग गर्ने लु प्र ०१०१३ प ७९७० नम्बरको मोटरसाइकल बेवारिसे अवस्थामा भेटिएको थियो।
यसैबीच, कपिलवस्तुको चेतदराईस्थित सनसाइन सामाजिक विकास केन्द्रको सीसीटीभी फुटेजमा उनी शुक्रबार दिउँसो ३ बजेर २७ मिनेटमा रामराज पुलसम्म पुगेको देखिएका छन्। त्यसयता भने उनी पूर्ण रूपमा सम्पर्कविहीन छन्।

























