
काठमाडौं । मकवानपुरको बागमती गाउँपालिकाबाट प्रहरीले एक थान पेस्तोल र म्यागेजिनसहित एक जना युवकलाई पक्राउ गरेको छ ।
बागमती गाउँपालिका–९ बेतिनी अगौटेका १९ वर्षीय टेकबहादुर सिङतानलाई पेस्तोलसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । विशेष सुराकीका आधारमा मकवानपुरको प्रहरी टोलीले सोमबार सिङतानको घरमा खानतलासी गर्दा पेस्तोल बरामद गरेको थियो ।
खानतलासीका क्रममा घरको माथिल्लो तलामा लुकाएर राखिएको अवस्थामा हतियार फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घरको माथिल्लो तलामा रहेको एउटा जेब्रा झोलाभित्र रातो टी सर्ट र प्लास्टिकले बेरेर राखिएको अवस्थामा ‘एन ओ ०१७११०’ लेखिएको पेस्तोल र सोही पेस्तोलमा लाग्ने एक थान म्यागेजिन बरामद भएको हो ।
हतियारसहित पक्राउ परेका सिङतानलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको छ ।
उनीमाथि हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

























