
काठमाडौं । अविरल वर्षासँगै सडक माथिबाट लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। आइतबार साँझदेखि परेको लगातार वर्षाका कारण सोमबार बिहान करिब ४ बजे बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ स्थित पिन्थली र नार्के क्षेत्रमा लेदो पहिरो खसेको छ।
पहिरोका कारण राजमार्गमा यातायात सेवा पूर्ण रूपमा ठप्प बनेको छ। सडक अवरुद्ध भएपछि गन्तव्यतर्फ जाँदै गरेका सयौँ सवारीसाधन र यात्रु बाटोमै रोकिएका छन्। वर्षा निरन्तर भइरहेकाले थप पहिरो खस्न सक्ने जोखिम उत्तिकै छ।
सडक डिभिजन भक्तपुरसँग समन्वय गरी पहिरो पन्छाउने तयारी भइरहेको छ। सडकमा खसेको लेदो र पहिरो हटाएर राजमार्गलाई यथाशीघ्र सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
बीपी राजमार्ग काठमाडौँलाई पूर्वी नेपालसँग जोड्ने प्रमुख सडक मार्ग भएकाले पहिरोका कारण लामो दूरीका सवारीसाधन बढी प्रभावित भएका छन्।



















