मुस्लिम आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिलाई बुझाइयो

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २५, सोमबार १२:२९

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मुस्लिम आयोगले आफ्नो वार्षिक प्रतिवेदन पेस गरेको छ। राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहका बीच आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन बुझाएका हुन्।

नेपालको संविधानको धारा २९४ बमोजिम संवैधानिक निकायले आफ्नो वार्षिक कामकारबाहीको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने व्यवस्थाअनुसार प्रतिवेदन बुझाइएको हो।

Advertisement

प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति पौडेलले मुस्लिम समुदायको हकहितको संरक्षण र सशक्तीकरणमा आयोगले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे। उनले मुस्लिम समुदायका लागि संवैधानिक तथा कानुनी व्यवस्थाको कार्यान्वयन अवस्थाबारे अध्ययन गरी सरकारलाई सुझाव दिने कार्यले समान अवसर र सामाजिक न्याय सुनिश्चित गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।

आयोगले मुस्लिम समुदायको सशक्तीकरण र सम्मानजनक सहभागितामा विशेष योगदान पुर्‍याएको बताउँदै राष्ट्रपति पौडेलले सामाजिक न्याय र संविधानले ग्यारेन्टी गरेका हकको सफल कार्यान्वयनका लागि यस्ता प्रतिवेदनहरू महत्त्वपूर्ण हुने उल्लेख गरे।

कार्यक्रममा आयोगका पदाधिकारीहरू तथा राष्ट्रपति कार्यालयका उच्च पदस्थ कर्मचारीहरूको उपस्थिति थियो।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.