महँगी, ग्यास अभाव र मल संकटबारे कांग्रेसद्वारा सरकारको ध्यानाकर्षण

Share this
718shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २५, सोमबार १९:२७

काठमाडौं । नेपाली कांग्रेसले मुलुकमा व्याप्त दैनिक जनजीवनका समस्याहरूलाई लिएर सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ। पार्टीको केन्द्रीय कार्यसमिति बैठकको दोस्रो दिन सोमबारको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता देवराज चालिसेले मुख्य गरी जनताले भोग्नुपरेका आर्थिक र व्यावहारिक कठिनाइहरूबारे छलफल भएको जानकारी दिए।

बैठकले भान्सामा प्रयोग हुने एलपी ग्यासको चरम अभाव र आपूर्ति व्यवस्थामा देखिएको कमजोरीप्रति सरकारलाई सचेत गराएको छ। प्रवक्ता चालिसेले ग्यासको अभाव युद्धका कारण मात्र नभई सरकारको भण्डारण क्षमताको कमी र गलत व्यवस्थापकीय शैलीका कारण भएको बताए।

Advertisement

यस्तै, इन्डक्सन चुल्होलाई प्रोत्साहन गर्ने नीति विपरीत वर्तमान सरकारले बिजुलीमा भ्याट लगाएर जनतालाई थप भार थपेको कांग्रेसको ठहर छ। उसले बिजुलीमा लगाइएको भ्याट तत्काल फिर्ता लिन र इन्डक्सन चुल्होको प्रयोगलाई सहज बनाउन माग गरेको छ।

खेतीपातीको सिजनमा किसानले रासायनिक मल नपाएको विषयलाई पनि कांग्रेसले प्राथमिकताका साथ उठाएको छ। मलको अभावले भोलि देशमा खाद्य सङ्कट आउन सक्ने चेतावनी दिँदै सीमावर्ती क्षेत्रमा किसानहरू मारमा पर्दा पनि सरकार मूकदर्शक बनेको आरोप चालिसेले लगाए। कांग्रेसले मलको कालोबजारी रोक्न र स्वदेशमै मल कारखाना स्थापना गर्ने दीर्घकालीन नीति बनाउन आग्रह गरेको छ।

अकासिँदो महँगीले न्यून आय भएका जनताको जीवन कष्टकर बनेको भन्दै फितलो अनुगमन संयन्त्रको आलोचना गरिएको छ। बजार नियन्त्रण गरी जनतालाई राहत दिने प्रभावकारी कदम चाल्न चालिसेले अपिल गरे।

सोमबारको बैठक विशेष गरी जनताको जीविकासँग जोडिएका विषयमा केन्द्रित रहेको र मङ्गलबारको बैठकमा समसामयिक राजनीति, पार्टीको आगामी अधिवेशन र अन्य साङ्गठनिक विषयहरूमा छलफल हुने प्रवक्ता चालिसेले जानकारी दिए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×