
काठमाडौं । नेपाली कांग्रेसले सुनसरीको कप्तानगन्जमा भएको हिंसात्मक घटनाको निष्पक्ष छानबिनका लागि तत्काल उच्चस्तरीय न्यायिक आयोग गठन गर्न सरकारसँग माग गरेको छ। कांग्रेस प्रवक्ता देवराज चालिसेले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा सरकारी संयन्त्र मात्रै संलग्न छानबिन समितिले सरकारका कमजोरी ढाकछोप गर्ने आशङ्का व्यक्त गरेका छन्।
विज्ञप्तिमा कप्तानगन्ज घटनाका पीडितलाई न्याय दिन र उच्चस्तरीय आयोग गठनको माग गर्दै १२ दिनदेखि अनशनरत विनय यादवको स्वास्थ्य अवस्था गम्भीर बन्दा समेत सरकारले चासो नदेखाएकोमा चिन्ता व्यक्त गरिएको छ। कांग्रेसले यादवको जीवनरक्षा गर्दै निष्पक्ष न्यायिक आयोग गठन गर्न सरकारसँग जोडदार माग गरेको छ।
सुनसरीका विभिन्न स्थानमा राज्यको दमनका कारण निर्दोष नागरिकले ज्यान गुमाएको तथा निजी सम्पत्तिमा आगजनी र तोडफोडबाट ठूलो क्षति पुगेको विज्ञप्तिमा उल्लेख छ। पीडितलाई न्याय दिने प्रतिबद्धतासहित सरकारले सम्झौता गरे पनि चार जनालाई शहीद घोषणा गर्नेबाहेक अन्य बुँदा कार्यान्वयन नगरेको कांग्रेसको आरोप छ।
सरकारको ढिलासुस्तीका कारण स्थानीय समुदायमा आक्रोश बढिरहेको र यसले पुनः अर्को दुर्घटना निम्त्याउन सक्ने चेतावनी दिइएको छ। यसैगरी चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी, निजामती कर्मचारी, राहत शिक्षक, यातायात व्यवसायी, दुग्ध तथा उखु किसान, मिटरब्याज पीडितलगायत विभिन्न पेसा, व्यवसाय र सङ्घ-संस्थासँग सरकारले गरेका सहमति तत्काल कार्यान्वयन गर्न पनि कांग्रेसले माग गरेको छ।

























