
काठमाडौं । निजामती सेवाको विशिष्ट श्रेणीका दुई जना सचिवले पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा रहेका सचिव बाबुराम अधिकारी र सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव डा. कमलप्रसाद पोखरेलले दिएको राजीनामा मन्त्रिपरिषद् बैठकले स्वीकृत गरिसकेको कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालले जानकारी दिए।
साउन १३ गते मात्रै राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारीबाट सञ्चार मन्त्रालयमा सरुवा भएका डा. पोखरेल उक्त सरुवाप्रति असन्तुष्ट थिए। सरुवा भएको दुई सातामै उनले पद छाडेका हुन्।
डा. पोखरेलको सचिव कार्यकाल २०८४ भदौ २३ गतेसम्म बाँकी थियो। अर्का सचिव अधिकारी भने आगामी भदौ ४ गते उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदै थिए।

























