गोलबजार आगजनी: ७४ करोडभन्दा बढीको क्षति

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २७, बुधबार १२:०६

विराटनगर। सिरहाको गोलबजार क्षेत्रमा गत साउन १४ गते भएको प्रदर्शनका क्रममा तोडफोड तथा आगजनीबाट ७४ करोड १३ लाख ९० हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी वासुदेव पाठकका अनुसार पीडितबाट प्राप्त निवेदनका आधारमा गरिएको स्थलगत मुचुल्का विश्लेषण गर्दा उक्त विवरण निकालिएको हो।

प्रदर्शनका क्रममा गोलबजार क्षेत्रका १५ वटा निजी घर, १८ वटा पसल तथा व्यवसाय, २८ वटा सवारीसाधन तथा धार्मिक र शैक्षिक स्थल गरी ६४ वटा संरचनामा तोडफोड र आगजनी भएको प्रहरीले जनाएको छ। निजी घर तथा व्यापारिक संरचनातर्फ सबैभन्दा बढी ३४ करोड ५ लाख ५९ हजार रुपैयाँ र पसल तथा व्यवसायमा ३३ करोड १७ लाख १२ हजार रुपैयाँ बराबरको क्षति भएको छ।

Advertisement

सवारीसाधनमा एक करोड दुई लाख रुपैयाँ तथा धार्मिक र शैक्षिक स्थलमा ५ करोड ८१ लाख ९० हजार रुपैयाँ बराबरको नोक्सानी भएको प्रहरीको तथ्याङ्क छ। प्रदर्शनका क्रममा सुरक्षाकर्मीको गोली लागेर सिरहाको औरही गाउँपालिका-२ तुलसियाहीका १५ वर्षीय गणेश यादवको मृत्यु भएको थियो। यादवको मृत्युपछि प्रदर्शन झन् चर्किएपछि गोलबजारमा व्यापक तोडफोड र आगजनी भएको थियो।

आन्दोलनका कारण करिब एक सातादेखि ठप्प रहेका गोलबजारका पसल तथा व्यवसायहरू मङ्गलवार बिहान १० बजेदेखि पुनः सञ्चालनमा आएका छन्। यसअघि सोमबार सांसद पुरुषोत्तम यादवले गोलबजार नगरपालिका-११ बल्कावामा मुस्लिम समुदायका व्यवसायीहरूसँग छलफल गर्दै सामाजिक सद्भाव कायम राखेर व्यवसाय सञ्चालन गर्न आग्रह गरेका थिए।

छलफलका क्रममा सांसद यादवले आन्दोलनबाट पसल, मल तथा निजी घरमा भएको क्षतिको विषय संसद् र सरकारसमक्ष उठाउने र पीडितलाई क्षतिपूर्ति दिलाउन दबाब दिने प्रतिबद्धता जनाएका छन्। घटनापछि प्रभावित क्षेत्रमा सामाजिक सद्भाव कायम राख्न र जनजीवन सामान्य बनाउन स्थानीय प्रशासन, राजनीतिक दल र समुदायका प्रतिनिधिहरू सक्रिय छन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.