
काठमाडौं। रोल्पाको थबाङ गाउँपालिका-५ कोटलबारामा पहिरोले घर तथा गोठ पुरिँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार बिहीबार बिहान हिलोमा पुरिएको अवस्थामा ७१ वर्षीया मनरखी पुनमगरको शव फेला परेको छ। यसअघि ६० वर्षीय कमलबहादुर पुनमगर र १८ वर्षीया शान्ति पुनमगरको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखुले बताए।
बुधबार राति करिब पौने ९ बजे अविरल वर्षासँगै आएको पहिरोले कोटलबाराका ६ वटा घर तथा गोठ पुरेको थियो। पहिरोमा पुरिएर हालसम्म नौ जना बेपत्ता रहेका छन्। बेपत्ता हुनेहरूमा ४० वर्षीया जुनकुमारी पुनमगर, ९ वर्षीय अशिम पुनमगर, ६ वर्षीय अशोक पुनमगर, ७५ वर्षीय डलबहादुर पुनमगर, ८० वर्षीय अजम्बर पुनमगर, ७८ वर्षीय बलबहादुर पुनमगर, ७२ वर्षीय लिलबहादुर पुनमगर, ७१ वर्षीया मनि पुनमगर र ६७ वर्षीया हस्तकला रोका मगर रहेका छन्।
पहिरोमा परी दुई जना गम्भीर घाइते भएका छन्। स्थानीयवासीको सहयोगमा २२ वर्षीय हिमाल पुनमगर र २५ वर्षीय सञ्जय घर्तीमगरलाई घाइते अवस्थामा उद्धार गरिएको थियो। प्रहरीका अनुसार बेपत्ता भएकाहरूको खोजी कार्य जारी छ।

























