
काठमाडौं। जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई समाचार लेखेकै आधारमा प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल मिडिया सोसाइटीले गम्भीर आपत्ति प्रकट गरेको छ।
समाचारको विषयमा कुनै गुनासो वा आपत्ति भए प्रचलित कानुन तथा प्रेससम्बन्धी स्थापित प्रक्रियामार्फत समाधान खोजिनुपर्नेमा पक्राउ गरिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मूल मर्मविपरीत भएको सोसाइटीको ठहर छ। संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हक लोकतान्त्रिक व्यवस्थाका आधारस्तम्भ भएको उल्लेख गर्दै सोसाइटीले पत्रकारलाई त्रसित बनाउने कार्यले निर्भीक पत्रकारितालाई निरुत्साहित गर्ने जनाएको छ।
नेपाल मिडिया सोसाइटीका महासचिव बोधराज त्रिपाठीले समाचारसँग सम्बन्धित विषयमा कानुनी उपचार खोज्दा संवैधानिक मूल्य, पत्रकारको व्यावसायिक अधिकार र स्थापित मान्यताको पूर्ण सम्मान हुनुपर्ने बताए।
सोसाइटीले वरिष्ठ पत्रकार श्रेष्ठलाई तत्काल र निशर्त रिहा गर्न माग गरेको छ। प्रकाशित समाचारका सम्बन्धमा कुनै आपत्ति भए कानुनी प्रक्रियामार्फत समाधान खोज्न आग्रह गर्दै सोसाइटीले स्वतन्त्र पत्रकारितामाथि हुने दबाब, हस्तक्षेप वा दमनविरुद्ध सदैव खबरदारीमा रहने चेतावनीसमेत दिएको छ।



















