
काठमाडौं। नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोइरालाले समाचार लेखेकै आधारमा जनआस्थाका प्रधान सम्पादक एवं वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्नु लोकतन्त्रका लागि राम्रो संकेत नभएको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेता कोइरालाले समाचार लेखेकै आधारमा पत्रकार श्रेष्ठलाई पक्रनु संविधानले दिएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मर्मविपरीत भएको उल्लेख गरेका छन्। उनले पत्रकार श्रेष्ठको अविलम्ब रिहाइ गर्न र यस्ता लोकतन्त्रविरोधी गतिविधि नगर्न सरकारसँग आग्रहसमेत गरेका छन्।
प्रहरीले जनआस्थाका प्रधान सम्पादक श्रेष्ठलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरेको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंमा उनीविरुद्ध वैयक्तिक गोपनीयता ऐनसम्बन्धी कसुरमा जाहेरी दर्ता भएकाले सोही आधारमा नियन्त्रणमा लिइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले पुष्टि गरेका छन्।
साउन २५ गते जनआस्था डटकममा सप्तरी क्षेत्र नम्बर–३ का सांसद अमरकान्त चौधरीसँग सम्बन्धित एक सामग्री प्रकाशन भएको थियो। उक्त समाचारमा नाम जोडिएकी युवतीले प्रहरीमा जाहेरी दिएपछि प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो।

























