
काठमाडौं । अविरल वर्षासँगै खसेको पहिरोमा परेर रोल्पामा मृत्यु हुनेको संख्या सात पुगेको छ। रोल्पाको थवाङ गाउँपालिका-५ स्थित कोटलबारामा गएराति पहिरो जाँदा सात जनाको ज्यान गएको हो भने अन्य पाँच जना अझै बेपत्ता छन्।
सशस्त्र प्रहरीका अनुसार पहिरोमा परी स्थानीय १८ वर्षीया शान्ति पुन मगर, ६५ वर्षीय कमलबहादुर पुन मगर, ४० वर्षीया जुनकुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर, ६ वर्षीय अशोक पुन मगर, ७५ वर्षीय दलबहादुर पुन मगर र ७१ वर्षीया मनरखी पुन मगरको मृत्यु भएको छ।
मृतकमध्ये एक महिला र दुई पुरुषको शव प्यूठानको स्वर्गद्वारी नगरपालिका तथा माण्डवी गाउँपालिकास्थित माडी खोलाको किनारामा भेटिएको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले बताए। घटनामा २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय संजय घर्तीमगर घाइते भएका छन्। थवाङ स्वास्थ्य चौकीमा प्रारम्भिक उपचारपछि दुवै जनालाई थप उपचारका लागि बुटवल पठाइएको छ।
पहिरोमा परी ८० वर्षीय अजम्बर पुन मगर, ७८ वर्षीय बलबहादुर पुन मगर, ७२ वर्षीय लिलबहादुर पुन मगर, ७१ वर्षीया मनि पुन मगर र ६७ वर्षीया हस्तकला पुन मगर बेपत्ता भएका छन्। बेपत्ता भएकाहरूको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली खटिएको छ। निरन्तरको वर्षा र लेदोसहितको पहिरो खसिरहेकाले उद्धार कार्यमा कठिन भइरहेको प्रहरीले जनाएको छ।

























