
विराटनगर । कोशी प्रदेश सरकारबाट नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएको विषयमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङलाई जानकारी गराएका छन्।
विराटनगर–३ स्थित प्रदेश प्रमुखको कार्यालय पुगेर मुख्यमन्त्री कार्कीसहितको टोलीले प्रदेश प्रमुख खापुङलाई भेटेको हो। भेटका क्रममा कांग्रेसका मन्त्रीहरूले दिएको राजीनामा र प्रदेशको पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराइएको आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङ्थेपले बताए।
सोमबारसम्ममा नयाँ मन्त्रीहरू नियुक्त भई मन्त्रिपरिषद्ले पूर्णता पाउने विषयमा समेत प्रदेश प्रमुखलाई जानकारी गराइएको मन्त्री लिङ्थेपले उल्लेख गरे। प्रदेशका प्रमुख सचिव राजेन्द्र कुमार पौडेलका अनुसार कांग्रेसका मन्त्रीहरू बाहिरिएपछि खाली भएका मन्त्रालयहरूको जिम्मेवारी तत्कालका लागि मुख्यमन्त्री कार्की आफैँले सम्हालेका छन्।

























