
काठमाडौं। पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।
जनआस्था साप्ताहिकका सम्पादक श्रेष्ठलाई जिल्ला अदालत काठमाडौंका न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले बिहीबार तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो।
समाचार प्रकाशनको विषयलाई लिएर प्रहरीले बुधबार राति पक्राउ गरेका श्रेष्ठलाई म्याद थपका लागि बिहीबार अदालतमा पेस गरिएको थियो। म्याद थप भएसँगै प्रहरीले उनीमाथि अनुसन्धान जारी राख्ने भएको छ।
उनको कार्यालय र घरमा खानतलासी गर्दै विभिन्न सञ्चार सामग्रीहरु प्रहरीले नियन्त्रणमा लिएको छ।
पत्रकार श्रेष्ठको पक्राउप्रति नेपाल पत्रकार महासंघलगायत संस्थाले विरोध गर्दै तत्काल रिहाइ गर्न माग गर्दै आएका छन्। नेपाल बार एशोसिएसन, शान्ति समाज लगायत विभिन्न पेशागत संस्थाहरुले उनको रिहाइको माग गरेका हुन्।

























