
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आज (शुक्रबार) देखि काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्दैछ । सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा बिहान ११ः३० बजे भेलाको उद्घाटन हुने कार्यक्रम तय भएको छ ।
भेलालाई नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । पार्टीभित्रको आन्तरिक समीकरण र आगामी रणनीतिका दृष्टिले यो भेलालाई निकै महत्वका साथ हेरिएको छ ।
तीन दिनसम्म चल्ने यस राष्ट्रिय भेलामा देशभरबाट करिब पाँच हजार नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहने अनुमान गरिएको छ । भेलाको मुख्य आकर्षणको रूपमा रहने बन्द सत्र साउन ३० र ३१ गते सञ्चालन हुनेछ । बन्द सत्रमा पार्टीको नयाँ नीति तथा कार्यक्रम तय गरिनुका साथै विभिन्न समसामयिक राजनीतिक विषयहरूमा गहन छलफल हुने आयोजक पक्षले जनाएको छ ।
सिंगापुरमा उपचार गराएर बिहीबार मात्र स्वदेश फर्किएका निवर्तमान सभापति देउवालाई इतर समूहका नेता–कार्यकर्ताले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
गत भदौ २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा भएको आक्रमणमा परी घाइते भएका देउवा लामो समयको उपचारपछि स्वदेश फर्किएका हुन् ।
राष्ट्रिय भेलाको पूर्वसन्ध्यामा चुनदेवीस्थित कार्यालयमा देउवाको नामअघि ‘सभापति’ लेखिएको बोर्ड राखिएको छ । कार्यकक्षको बाहिर र भित्र राखिएको यो बोर्डले राजनीतिक वृत्तमा नयाँ चर्चा र तरंग पैदा गरेको छ । इतर समूहले आजको भेलामार्फत पार्टीको आगामी बाटो र नेतृत्वका सन्दर्भमा स्पष्ट धारणा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

























