आगामी तीन दिन आकस्मिक बाढीको जोखिम

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २९, शुक्रबार १०:३५
फाइल तस्बिर

काठमाडौं। देशभरका प्रमुख नदीहरूमा हाल पानीको बहाव सामान्य रहे तापनि आगामी तीन दिनसम्म बाढीको जोखिम बढ्दै जाने देखिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले शुक्रबार बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार आजैदेखि साना नदी तथा खहरे खोलाहरूमा आकस्मिक बाढीको मध्यम जोखिम छ।

हाल कोशी, नारायणी, बागमती, कर्णाली र महाकालीका साथै कन्काई, कमला, बबई, पूर्वी तथा पश्चिम राप्ती लगायतका प्रमुख नदीहरूमा पानीको सतह सतर्कता तहभन्दा तलै छ। तर आगामी दुई-तीन दिनभित्र देशैभरका नदीहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने प्रक्षेपण महाशाखाले गरेको छ।

Advertisement

आज विशेषगरी नारायणी, कर्णाली र महाकाली बेसिनका प्रमुख नदीहरूमा बहाव बढ्नेछ। नारायणी, त्रिशुली, बुढीगण्डकी, मर्स्याङ्दी, सेती, कालीगण्डकी, भेरी र पश्चिम सेतीमा पानीको सतह ह्वात्तै बढ्ने अनुमान छ। कोशी बेसिनका सप्तकोशी, तमोर, अरुण, सुनकोशी र दुधकोशीमा भने आज बहाव सामान्य मात्र बढ्ने देखिन्छ। भोलि ३० गते र पर्सि ३१ गते भने देशैभरका प्रमुख नदीहरूमा पानीको सतह अझै बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

ठूला नदीको तुलनामा आज स-साना नदी र खहरे खोलाहरूमा बाढीको जोखिम बढी छ। काठमाडौँ उपत्यकाका तीनै जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरसहित दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र चितवनका खहरे खोलाहरूमा आकस्मिक बाढी आउन सक्ने चेतावनी दिइएको छ।

यस्तै पूर्वमा ताप्लेजुङदेखि पश्चिममा कञ्चनपुरसम्मका पहाडी तथा तराईका दर्जनौँ जिल्ला भई बग्ने साना नदीहरूमा बहाव उल्लेख्य बढेर आकस्मिक बाढी आउन सक्ने मध्यम जोखिम छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका साना नदीहरूमा यो जोखिम आगामी दुई दिनसम्म कायमै रहने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.