
काठमाडौं। सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई जनआस्था पत्रिकाको कार्यालयबाट जफत गरिएका सामानसहित आगामी भदौ १ गते अदालतमा उपस्थित गराउन आदेश दिएको छ। श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले यस्तो आदेश दिएको हो।
इजलासले जनआस्थाको कार्यालयबाट प्रहरीले जफत गरेको ल्यापटप, कम्प्युटर र मोबाइलसहित श्रेष्ठलाई उपस्थित गराउन भनेको छ। वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा प्रहरीले श्रेष्ठलाई बुधबार राति ललितपुरस्थित उनकै निवासबाट पक्राउ गरेर हिरासतमा राखेको छ।
सर्वोच्च अदालतले बरामद सामानसहित बन्दीलाई उपस्थित गराउन आदेश दिएको यो दोस्रो घटना हो। यसअघि २०७० भदौ १ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वरिष्ठ अधिवक्ता शम्भु थापाको ल फर्मबाट बरामद गरेका सामानसहित अदालतमा उपस्थित गराउन सर्वोच्चले आदेश दिएको थियो। उक्त रिटको पक्षमा अधिवक्ताहरू टीकाराम भट्टराई र रमेश बडालले बहस गरेका थिए।

























