प्रहरी प्रमुखमाथि लेखा समितिमा भएको व्यवहारप्रति गृहमन्त्रीको असन्तुष्टि

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २९, शुक्रबार १४:११

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीसहितका अधिकारीहरूमाथि सांसदले गरेको व्यवहारप्रति गृहमन्त्री सुधन गुरुङले कडा असन्तुष्टि जनाएका छन्।

शुक्रबार प्रतिनिधि सभाकै कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै गृहमन्त्री गुरुङले सो घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताए। ‘मेरो गैरउपस्थितिमा प्रहरी प्रमुखमाथि जुन व्यवहार भएको छ, त्यसप्रति म र मन्त्रालय खुसी छैनौँ। वि आर नट ह्याप्पी,’ मन्त्री गुरुङले भने, ‘आरोप लाग्न सक्छ, तर त्यसलाई पुष्टि नै भएजसरी प्रस्तुत गर्नु उचित होइन।’

Advertisement

गत बुधबार सार्वजनिक लेखा समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरीको पोसाक तथा अन्य सामग्री खरिदमा अनियमितता भएको भन्दै परेको उजुरीमाथि छलफल डाकिएको थियो। उक्त बैठकमा गृहसचिव राजकुमार श्रेष्ठ, नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरीका आईजीपी नारायणदत्त पौडेल उपस्थित थिए। आमन्त्रित भए पनि गृहमन्त्री गुरुङ भने बैठकमा सहभागी भएका थिएनन्।

छलफलका क्रममा सांसद खगेन्द्र सुनारले प्रहरीको पोसाक तथा जुत्ता खरिद प्रकरणमा विशेष छानबिन समिति गठन हुनुपर्ने माग राख्दै बहालवाला अधिकारीहरूमाथि कडा टिप्पणी गरेका थिए। ठेकेदार छनोट प्रक्रियामै प्रश्न उठाउँदै उनले तत्कालीन गृहमन्त्री ओमप्रकाश अर्याल, तत्कालीन सशस्त्र प्रहरी आईजीपी राजु अर्याल, वर्तमान गृहसचिव राजकुमार श्रेष्ठ र नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की यसमा जिम्मेवार रहेको दाबी गरे।

सांसद सुनारले बहालवाला अधिकारीहरूलाई नैतिकताका आधारमा राजीनामा दिन वा तत्काल निलम्बन र बर्खास्त गरी कठघरामा उभ्याएर अनुसन्धान अघि बढाउन चेतावनी दिएका थिए। उनले बैठकमा भनेका थिए, ‘नैतिकता छ भने तपाईंहरूले पद छाड्नुपर्छ। कानुनी राज्य हो भने आजै, अहिल्यै ‘राइट नाउ’ बर्खास्ती गरिनुपर्छ। बर्दी र कुर्सीमा बसेर छानबिन हुन सक्दैन।’

अख्तियारमा मुद्दा चलिरहेको बहानामा कोही पनि पन्छिन नपाउने भन्दै पूर्वपदाधिकारीहरूलाई समेत झिकाएर छानबिन गरिनुपर्ने सांसद सुनारको भनाइ थियो। यद्यपि, बैठककै क्रममा सांसद सुनारको सो आक्रामक शैली र शब्दचयनको अन्य सांसदहरूले समेत विरोध गरेका थिए। सोही विषयलाई लिएर गृहमन्त्री गुरुङले पनि संसदीय समितिकै बैठकमा औपचारिक रूपमा असन्तुष्टि व्यक्त गरेका हुन्।

तपाइको प्रतिक्रिया
संवैधानिक इजलास गठन प्रक्रियाप्रति बार अध्यक्ष मिश्रको आपत्ति
म्याद गुज्रेका सिलिन्डरमा ग्यास भरेर बेच्ने मोरङको ‘रिजालको भान्सा ग्यास’ लाई पौने ३ लाख जरिबाना
भारत, क्यानाडालगायत देशले भन्सार छलीमा चीनलाई सघाएको आरोप
‘मानव अधिकार आयोगका सिफारिस कार्यान्वयन निराशाजनक’
प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ, तयारीका लागि पहिले भारत
औद्योगिक सहरमा बेरोजगार युवा
धवलशमशेर राणाद्वारा ‘जय नेपाल पार्टी’ दर्ता, चुनाव चिन्ह त्रिभुज
जेनजी आन्दोलनमा पक्राउ परेकाहरूको मुद्दा फिर्ताबारे अध्ययन हुँदै: गृहसचिव श्रेष्ठ
‘देउवाजी अभिभावक बन्नुस्, असन्तुष्ट पक्ष अहंकार छाडेर एकतामा आउनुस्’
प्रहरी प्रमुखमाथि लेखा समितिमा भएको व्यवहारप्रति गृहमन्त्रीको असन्तुष्टि
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.