अविरल वर्षाले देशका विभिन्न भागमा सडक अवरुद्ध

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ३०, शनिबार ११:००
फाइल तस्बिर

काठमाडौं। लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख सडकखण्डहरूमा बाढी पहिरो जाँदा सवारीसाधनको आवागमन प्रभावित भएको छ। प्रहरी प्रधान कार्यालयले शनिबार बिहान सार्वजनिक गरेको विवरण अनुसार पहिरो र सडक कटानका कारण आधा दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्।

काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा बाढीको जोखिमलाई ध्यानमा राख्दै दैनिक साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। उक्त सडकखण्डमा बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म मात्र सवारी चलाउन पाइनेछ। यस्तै मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण अपराह्न ५ बजेदेखि बिहान ५ बजेसम्म गाडी चलाउन बन्द गरिएको छ।

Advertisement

पूर्वी नेपालको इलाम नगरपालिका–९ राजदुवालीमा हिलोका कारण मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। प्रहरीले उक्त स्थानमा वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ। यसैगरी सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–४ चारकिलो लिपिङमा सडक भासिँदा आवतजावत ठप्प भएको छ। रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा सडक कटान हुँदा त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी कच्ची सडकखण्ड पनि रोकिएको छ।

पश्चिम क्षेत्रतर्फ रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोला नजिक पहिरो जाँदा भेरी करिडोरको जाजरकोट–डोल्पा सडकखण्ड अवरुद्ध बनेको छ। रुकुम पूर्वको भूमे गाउँपालिका–४ स्थित काडाबगर र धौलापहिरामा खसेको पहिरोले मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा ठप्प पारेको छ।

यस्तै रोल्पाको थबाङ गाउँपालिका–२ स्थित लाप्लेभिर र दबाङमा भूस्खलन हुँदा घोराही–थबाङ सहिद मार्ग दुई स्थानमा बन्द भएको छ। प्रहरीका अनुसार अवरुद्ध भएका सबै सडकहरू खुलाउन स्थानीय तह तथा सम्बन्धित निकायसँग समन्वय गरी कार्य भइरहेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.