
इलाम। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा अहिले चरम गरिबी नरहेको दाबी गरेका छन्। एमालेले १० वर्ष सरकार चलाउँदा देशबाट चरम गरिबीको अन्त्य गरेको उनले बताए।
शनिबार इलामको फिक्कलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफू तीन वर्ष प्रधानमन्त्री हुँदा नेपालमा गरिबी कम्तीमा तीन प्रतिशतले घटेको दाबी गरे। ‘हाम्रो बहुमत नभए पनि अरूसँग मिलेर नेतृत्व गर्दा तीन प्रतिशतले गरिबी घट्यो, १० वर्ष हामीले काम गर्दा चरम गरिबीको अन्त्य गर्यौँ,’ उनले भने। नेपालमा अझै सामान्य गरिबी रहे पनि छिमेकी मुलुकहरूमा जस्तो चरम गरिबी नभएको ओलीको भनाइ थियो।
साथै, एमाले नेतृत्वको सरकारका बेला विकास निर्माणका क्षेत्रमा धेरै काम भएको उनले उल्लेख गरे। राजमार्ग, सडक, रिभर करिडोर निर्माण तथा विमानस्थलहरूलाई रात्रिकालीन सेवायोग्य बनाउनेसम्मका कामहरू आफ्नै नेतृत्वमा भएको उनले बताए। शिक्षासहित विभिन्न क्षेत्रमा थुप्रै कामहरू भए पनि एमालेले केही गरेन भनेर गलत प्रचार गरिएको ओलीले गुनासो गरे। एमालेका नेता तथा कार्यकर्ताले सरकारमा छँदा गरेका कामको पर्याप्त प्रचार जनतामाझ पुर्याउन नसकेको उनले स्वीकार गरे।



















