
एजेन्सी। जिम्बाबेको करिबा तालमा यात्रुले खचाखच भरिएको डुंगा पल्टिँदा कम्तीमा ७२ जनाको मृत्यु भएको छ। उद्धारकर्मीहरूले थप २६ जनाको शव फेला पारेसँगै मृतकको सङ्ख्या ७२ पुगेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेको थोत्रो डुंगा करिबा सहरबाट देशको उत्तरपश्चिमतर्फ रहेको ग्रामीण भेगतिर जाँदै थियो। ९० जना क्षमता रहेको उक्त डुंगामा करिब १५३ जना सवार रहेको अनुमान गरिएको छ। दुर्घटनामा परेका ७७ जनाको भने सकुशल उद्धार गरिएको जिम्बाबेको विपद् व्यवस्थापन एजेन्सीले बताएको छ।
टिकट काट्नु नपर्ने साना बालबालिकालाई यात्रु सूचीमा नराखिने भएकाले सुरुमा सवार बालबालिकाको सङ्ख्या यकिन हुन सकेको थिएन। तर प्रहरीले सार्वजनिक गरेको मृतकको सूचीमा १६ जना १० वर्ष वा सोभन्दा कम उमेरका बालबालिका रहेका छन्।
जिम्बाबे र जाम्बियाको सीमामा रहेको करिबा ताल आयतनका हिसाबले संसारकै सबैभन्दा ठुलो मानव निर्मित ताल हो। सन् १९५० को दशकको अन्त्य र १९६० को दशकको सुरुवातमा जाम्बेजी नदीमा बाँध बाँधेर यो ताल बनाइएको थियो। २०० किलोमिटरभन्दा लामो यो ताल ठाउँठाउँमा ४० किलोमिटरसम्म फराकिलो रहेको छ।

























