
एजेन्सी। इन्डोनेसियाको पूर्वी क्षेत्रमा पर्ने फ्लोरेस टापु आसपास केन्द्रविन्दु बनाएर शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।
इन्डोनेसियाको मौसम विज्ञान, जलवायु तथा भूभौतिकी एजेन्सी (बीएमकेजी) का अनुसार स्थानीय समयअनुसार बिहान ४:५८ बजे भूकम्प गएको हो। १५ किलोमिटर गहिराइमा गएको भूकम्पको केन्द्रविन्दु पूर्वी नुसा तेङ्गारा प्रान्तको नागेकेओबाट करिब ३० किलोमिटर उत्तरपूर्व समुद्रमा रहेको थियो।
भूकम्पका कारण नागेकेओलगायत आसपासका क्षेत्रका सयौँ मानिस सुरक्षित स्थानतर्फ भागेका थिए। स्थानीय सञ्चारमाध्यमका अनुसार केही स्थानमा भवन तथा घरहरूमा क्षति पुगेको छ भने परकम्पसमेत महसुस गरिएको छ। भूकम्पमा परेर कम्तीमा दुई जनाको मृत्यु भएको छ भने केही मानिस घाइते भएका छन्।
भूकम्प लगत्तै बीएमकेजीले पूर्वी नुसा तेङ्गारा, दक्षिण सुलावेसी र पश्चिम नुसा तेङ्गारा प्रान्तका तटीय क्षेत्रमा सुनामीको चेतावनी जारी गरेको थियो। प्रारम्भमा ०.५ मिटरदेखि ३ मिटरसम्म अग्ला छाल आउन सक्ने अनुमान गरिए पनि समुद्रको सतहमा ठूलो परिवर्तन नदेखिएपछि सुनामीको चेतावनी पछि हटाइएको छ।
नेपालजस्तै भूकम्पीय दृष्टिले संवेदनशील मानिने यो क्षेत्रमा सन् १९९२ मा पनि ७.७ म्याग्निच्युडकै भूकम्प र त्यसपछिको सुनामीका कारण ठूलो जनधनको क्षति भएको थियो।

























