
काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय सम्मेलन आज (आइतबार) सम्पन्न हुँदैछ। काठमाडौंको सुकेधारास्थित एक पार्टी प्यालेसमा साउन ३१ गतेदेखि सुरु भएको भेलालाई कांग्रेसले राष्ट्रिय सम्मेलनमा परिणत गरेको थियो।
बन्दसत्रमा पेसिएका विभिन्न प्रस्तावहरूमाथि सहभागीहरूले धारणा राख्ने र सुझाव दिने क्रम आज पनि जारी छ। प्राप्त सबै सुझावहरूलाई समेटेर प्रस्तावहरूलाई अन्तिम रूप दिइने र आजै सम्मेलन समापन गरिने कांग्रेसका पूर्वकेन्द्रीय सदस्य गुरु बरालले जानकारी दिए।
साउन ३० गतेदेखि सुरु भएको बन्दसत्रमा नेता विमलेन्द्र निधिले राजनीतिक प्रस्ताव, डा. प्रकाशशरण महतले आर्थिक-सामाजिक नीतिको कार्यदिशा र एनपी साउदले समसामयिक राजनीतिक प्रस्ताव पेस गरेका थिए।
करिब पाँच हजार जनाको सहभागिता रहेको भनिएको यस सम्मेलनको उद्घाटन पूर्वसभापति शेरबहादुर देउवाले गरेका थिए। आज ती प्रस्तावहरूलाई पारित गर्दै सम्मेलन समापन गर्ने कार्यक्रम छ।



















