
काठमाडौं। भारतीय सेनाका प्रमुख धिरज सेठ नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा आइतबार अपराह्न काठमाडौं आउँदै छन्। प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणमा उनी नेपाल आउन लागेका हुन्।
भारतीय सेना प्रमुखको भ्रमणका दुई मुख्य उद्देश्य मानार्थ महारथीको दर्ज्यानी चिह्न ग्रहण गर्ने र नेपाल-भारत सैन्य सम्बन्धलाई थप प्रगाढ बनाउने रहेको नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिए।
सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजना गरिने विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय सेना प्रमुख सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम छ।
सोमबार नै सैनिक मुख्यालय जङ्गी अड्डामा प्रधानसेनापति सिग्देल र भारतीय सेना प्रमुख सेठबिच द्विपक्षीय भेटवार्ता हुनेछ। सेठ बुधबार स्वदेश फर्किने तालिका रहेको छ।



















