एभरेस्ट स्कुलका कराँते खेलाडीको ग्रेडिङ सम्पन्न

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ३१, आइतबार १८:०७
एभरेस्ट स्कुलका कराँते खेलाडीको ग्रेडिङ सम्पन्न

विराटनगर । विराटनगर–५ स्थित एभरेस्ट सेकेन्डरी स्कुलका ३० जना विद्यार्थी खेलाडीहरूलाई कराँते बेल्ट तथा प्रमाणपत्र वितरण गरिएको छ । हरेक तीन महिनामा हुने नियमित प्रशिक्षणपछिको ग्रेडिङ अनुसार सफल खेलाडीहरूलाई पुरस्कृत गरिएको हो ।

विद्यालयकी अतिरिक्त क्रियाकलाप इन्चार्ज सुधा डंगोलका अनुसार ७ जना खेलाडीले  ‘ग्रिन बेल्ट’ र २३ जनाले  ‘ओरेन्ज बेल्ट’ प्राप्त गरेका छन् । राष्ट्रिय खेलाडी एवं प्रशिक्षक विवेक थापाले विद्यार्थीहरूलाई प्रशिक्षण दिँदै आएका छन् । कार्यक्रममा विद्यालयका प्रिन्सिपल टीकाराम पुरीले कराँते आत्मरक्षाका लागि मात्र नभई व्यक्तिको सर्वाङ्गीण विकासका लागि अपरिहार्य रहेको बताए । ‘एभरेस्टमा विद्यार्थीले पढाइसँगै कुनै न कुनै अतिरिक्त क्रियाकलापमा भाग लिनै पर्ने व्यवस्था गरेका छौँ,’ पुरीले भने, ‘अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई चिनाउन कराँतेको ठुलो योगदान छ ।’

Advertisement

प्रमुख अतिथि नेपाल कराँते महासंघका केन्द्रीय सदस्य धर्म न्यौपानेले खेलकुदले अनुशासन र सामूहिक भावना विकास गर्ने उल्लेख गरे । उनले  ‘सक्दा राष्ट्रलाई, नसक्दा स्वास्थ्यलाई’ भन्ने मर्मका साथ खेलकुदलाई निरन्तरता दिन विद्यार्थीहरूलाई आग्रह गरे ।

सो अवसरमा विद्यार्थीहरूले आकर्षक  ‘काता’ प्रदर्शन गरेका थिए । एभरेस्ट स्कुलमा हाल सयौँको संख्यामा विद्यार्थीहरूले कराँते लगायत दर्जनौँ विधामा नियमित प्रशिक्षण लिइरहेका छन् ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.