
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायु सेवा निगमका दुई कर्मचारी विदेशी मुद्रासहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा गोरखा घर भएकी ममता पाण्डे र काठमाडौंकी जननी बज्राचार्य रहेका छन् । उनीहरूले तोकिएको कानुनी मापदण्डभन्दा बढी वैदेशिक मुद्रा बोकेर मलेसिया जान लाग्दा विमानस्थल सुरक्षा कार्यालयले नियन्त्रणमा लिएको हो ।
विमानस्थल सुरक्षा कार्यालयका एसपी राजकुमार सिलवालका अनुसार जाँचका क्रममा जननीको साथबाट ४ हजार ३ सय अमेरिकी डलर र १२ हजार ३७२ मलेसियन रिंगेट बरामद भएको छ । त्यसैगरी, ममताको साथबाट ४ हजार २ सय अमेरिकी डलर र १२ हजार ३२८ मलेसियन रिंगेट बरामद गरिएको छ ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीका लागि सम्पत्ति शुद्धीकरण विभाग पठाइएको प्रहरीले जनाएको छ ।



















