डेरावालाको विवरण राखौँ, विराटनगरलाई सुरक्षित बनाऔँ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १, सोमबार १६:५०

कोशी प्रदेशको राजधानी विराटनगर व्यापार, उद्योग, शिक्षा र रोजगारीको केन्द्रका रूपमा स्थापित छ । भारतसँगको खुला सीमाना, पूर्वी नेपालका विभिन्न जिल्लासँगको सहज आवागमन र आर्थिक गतिविधिका कारण यहाँ दिनहुँ नयाँ मानिस आउने र बस्ने क्रम स्वाभाविक छ । यही गतिशीलताले विराटनगरलाई जीवन्त बनाएको छ । तर, यही गतिशीलतासँग जोडिएको एउटा गम्भीर सुरक्षा चुनौती भने अझै बेवास्तामा छ । घर भाडामा लगाउने, तर आफ्नो घरमा को बसिरहेको छ भन्ने सामान्य जानकारीसमेत नराख्ने प्रवृत्ति देखिन्छ ।

विराटनगरका मुख्य सडकसँग जोडिएका भित्री गल्लीमा रहेका अधिकांश घरको तल्लो तलामा पसल र माथिल्लो तलामा डेरा छन् । ती डेरामा विद्यार्थी, मजदुर, कर्मचारी, व्यवसायी तथा विभिन्न जिल्लाबाट आएका परिवार बसिरहेका छन् । उनीहरू विराटनगरको सामाजिक र आर्थिक जीवनकै हिस्सा हुन् । त्यसैले बाहिरबाट आएका सबै मानिसलाई शंकाको दृष्टिले हेर्नु गलत हुन्छ । समस्या बाहिरबाट मानिस आउनु नभएर को आएर बस्यो भन्ने आधारभूत अभिलेखसमेत नहुनु हो ।

Advertisement

घरधनीले कोठा भाडामा दिँदा डेरावालाको परिचयपत्र हेर्ने, स्थायी ठेगाना र सम्पर्क नम्बर लिने तथा आवश्यक विवरण सुरक्षित राख्ने सामान्य अभ्यासलाई अनिवार्य संस्कारका रूपमा विकास गर्नुपर्छ । तर, धेरै ठाउँमा अहिले पनि ‘भाडा पाए पुग्यो’ भन्ने मानसिकता देखिन्छ । को बस्यो, कहाँबाट आयो, के काम गर्छ र सम्पर्क गर्नुपर्ने अवस्थामा कसरी भेटिन्छ भन्ने प्रश्नमा घरधनी नै अनभिज्ञ हुने अवस्था छ । यो प्रवृत्ति सामान्य देखिए पनि यसको असर असामान्य हुन सक्छ ।

कुनै अप्रिय घटना वा अपराध भयो भने अनुसन्धानका लागि प्रहरीलाई सबैभन्दा पहिले आवश्यक पर्ने कुरा घटनासँग जोडिएका व्यक्तिको पहिचान र उसको गतिविधिको विवरण हो । कुनै व्यक्ति केही महिना डेरामा बसेर अर्को ठाउँमा सरेको छ । तर, उसको परिचय, सम्पर्क नम्बर वा स्थायी ठेगानासम्बन्धी कुनै अभिलेख छैन भने अनुसन्धानको एउटा महत्त्वपूर्ण कडी त्यहीँ कमजोर हुन्छ । यसले अपराध अनुसन्धान मात्र नभएर समग्र सुरक्षा व्यवस्थापनलाई नै जटिल बनाउँछ ।

यस विषयमा घरधनीलाई मात्र दोष दिएर समस्या समाधान हुँदैन । स्थानीय तह, प्रहरी, वडा कार्यालय र समुदायले मिलेर डेरावाला व्यवस्थापनको व्यावहारिक प्रणाली विकास गर्नुपर्छ । घरधनीले डेरावालाको विवरण राख्ने, नयाँ व्यक्ति आएपछि विवरण अद्यावधिक गर्ने र डेरा छाड्दा त्यसको अभिलेखसमेत राख्ने व्यवस्था व्यवहारमा लागू गर्न सकिन्छ । यसका लागि जटिल प्रक्रिया आवश्यक छैन । नाम, परिचयपत्रको विवरण, स्थायी ठेगाना, सम्पर्क नम्बर र आपत्कालीन अवस्थामा सम्पर्क गर्न सकिने व्यक्तिको विवरणजस्ता आधारभूत जानकारी पर्याप्त हुन सक्छन् ।

विराटनगर–१० का वडाध्यक्ष अर्जुन गिरीले भनेजस्तै, टोलको सुरक्षा केवल सडक सफा राखेर वा सामाजिक सद्भावका कार्यक्रम गरेर मात्र सुनिश्चित हुँदैन । टोलमा को बसिरहेको छ भन्ने सामान्य जानकारीसमेत समुदायसँग हुनुपर्छ । यसको अर्थ प्रत्येक डेरावालामाथि निगरानी गर्नु होइन । बरु, आवश्यक परेको अवस्थामा सम्बन्धित व्यक्तिसम्म पुग्न सकिने आधार तयार गर्नु हो ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले पनि बाहिरबाट आउने सबैलाई शंकाको दृष्टिले हेर्न नहुने तर डेरावालाको सही विवरण नराख्दा सुरक्षा व्यवस्थापनमा कठिनाइ हुने यथार्थ औँल्याएका छन् । यो नै समस्याको सही बुझाइ हो । विराटनगरलाई सुरक्षित बनाउने नाममा नयाँ मानिसलाई शंका गर्ने होइन, व्यवस्थित अभिलेख राख्ने प्रणाली बलियो बनाउने हो ।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्रसिंह थापाले अपराध अनुसन्धानका क्रममा डेरावालाको बसाइसम्बन्धी प्रमाण र अभिलेख नहुँदा घटनाको कडी जोड्न कठिन हुने तथ्य औँल्याएका छन् । प्रहरीलाई अनुसन्धानमा सहयोग पुर्‍याउने सबैभन्दा सरल माध्यम नै व्यवस्थित नागरिक सूचना हुन सक्छ । अपराध भएपछि मात्र सूचना खोज्नेभन्दा अपराध अनुसन्धानमा आवश्यक पर्ने आधारभूत सूचना पहिल्यै व्यवस्थित राख्नु बुद्धिमानी हुन्छ ।

तर, यहाँ अर्को पक्ष पनि उत्तिकै महत्त्वपूर्ण छ । डेरावालाको विवरण राख्ने नाममा नागरिकको व्यक्तिगत गोपनीयता र सम्मानमा हस्तक्षेप हुनु हुँदैन । घरधनीले आवश्यकभन्दा बढी व्यक्तिगत सूचना माग्ने, अनावश्यक निगरानी गर्ने वा कुनै व्यक्तिको जात, क्षेत्र, भाषा, पेसा वा अन्य आधारमा विभेद गर्ने प्रवृत्ति स्वीकार्य हुन सक्दैन । अभिलेख सुरक्षा व्यवस्थापनका लागि हो । सामाजिक विभेदका लागि होइन ।

विराटनगरमा बाहिरबाट आउने मानिसले यहाँको अर्थतन्त्र चलायमान बनाएका छन् । उद्योगमा काम गर्ने श्रमिकदेखि शिक्षाका लागि आउने विद्यार्थी र रोजगारी खोज्दै आउने युवासम्मले सहरको विकासमा योगदान गरिरहेका छन् । त्यसैले ‘बाहिरबाट आएको’ भन्ने कारणले कसैलाई असुरक्षाको स्रोतका रूपमा चित्रण गर्नु न्यायोचित हुँदैन ।

अब आवश्यक कुरा मानसिकता परिवर्तन हो । घरधनीले ‘कोठा भाडामा लगाएँ, भाडा आयो, जिम्मेवारी सकियो’ भन्ने सोच बदल्नुपर्छ । स्थानीय तहले डेरावाला विवरण व्यवस्थापनसम्बन्धी स्पष्ट र सहज प्रणाली बनाउनुपर्छ । प्रहरीले घरधनी तथा टोल विकास संस्थासँग समन्वय गरी सचेतना बढाउनुपर्छ । वडा तहले अभिलेख व्यवस्थापनलाई व्यवस्थित बनाउन सहजीकरण गर्नुपर्छ । नागरिकले पनि आफ्नो परिचय र आवश्यक विवरण उपलब्ध गराउनु सामाजिक जिम्मेवारीका रूपमा लिनुपर्छ ।

सुरक्षित सहर बनाउन ठुल्ठूला योजना मात्र चाहिँदैनन् । कहिलेकाहीँ सानो सावधानीले ठूलो जोखिम रोक्न सक्छ । त्यसैले अब विराटनगरका प्रत्येक घरधनीले एउटा सरल प्रश्न आफैँलाई सोध्नुपर्छ, ‘मेरो घरमा को बस्छ, मलाई थाहा छ ?’

उत्तर ‘थाहा छैन’ हो भने सुधारको सुरुवात त्यहीँबाट हुनुपर्छ । डेरावालाको सम्मान र गोपनीयता कायम राख्दै सही परिचय र आधारभूत विवरण व्यवस्थित राख्ने संस्कार विकास गरौँ । डेरावालाको विवरण राखौँ, अनावश्यक शंका होइन, सूचना व्यवस्थित गरौँ, विराटनगरलाई सुरक्षित बनाऔँ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.