जनताले सिटामोल नपाउँदा मन्त्रीलाई हेलिकप्टर !

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २, मंगलबार ११:४४

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जनताले सामान्य सिटामोल र उपचार नपाउँदा पनि सरकार मन्त्रीहरूको सेवा-सुविधा र विलासितामा मात्रै केन्द्रित भएको भन्दै आलोचना गरेको छ। प्रतिनिधिसभाको मंगलबारको बैठकमा कांग्रेस प्रमुख सचेतक वासना थापाले दुर्गमका जनताले राहत र औषधि नपाएको तर मन्त्रीहरू बिरामी पर्दा राज्यको लाखौँ रकम खर्च गरेर हेलिकप्टर चार्टर गरिएको भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाएकी हुन्।

‘जनताले राहत पाउँदैनन्, सिटामोल पाउँदैनन्, सुत्केरीले समयमा अस्पताल पाउँदैनन्,’ थापाले भनिन्, ‘तर काठमाडौँको मिनरल वाटर र जारको पानीमा हुर्किएका मन्त्री कर्णाली पुग्दा खानपान पचाउन नसकेर बिरामी भएपछि लाखौँ खर्च गरेर हेलिकप्टरमा काठमाडौँ ल्याइन्छ।’

Advertisement

उनले प्रधानमन्त्रीले मन्त्रीलाई काठमाडौँ ल्याउन ३०–३५ लाख खर्च गर्न सक्ने तर जनतालाई ३ लाखको राहत दिन नसक्ने भन्दै आक्रोश पोखिन्। बिहान-बेलुकाको छाक टार्न कठिन भएका नागरिकलाई राज्यले एक सिलिन्डर ग्यास समेत दिन नसकेको अवस्थामा सरकारले गर्ने सुशासनको कुरा खोक्रो भएको उनले दाबी गरिन्।

मन्त्री र सामान्य नागरिकको जीवनको मूल्य बराबर हुनुपर्नेमा जोड दिँदै थापाले प्रश्न गरिन्, ‘मन्त्रीको जीवन जति मूल्यवान् छ, कर्णालीका नागरिकको जीवन पनि उत्तिकै मूल्यवान् छ। प्रधानमन्त्रीका लागि हेलिकप्टर पुग्ने तर बिरामी नागरिकका लागि अस्पताल नपुग्ने? के यही हो जनताको सरकार?’

एकातिर सरकारले ठूला-ठूला एक्सप्रेस-वे (द्रुतमार्ग) का कुरा गर्ने तर अर्कोतिर कर्णालीमा औषधि र राहत समेत नपुग्ने विरोधाभासपूर्ण अवस्था रहेको उनले बताइन्। सरकारको यस्तो व्यवहारले कर्णालीवासीले वास्तविक सुशासनको महसुस गर्न नसकेको उनको भनाइ थियो।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.