संखुवासभा र उदयपुरका दुर्गम गाउँमा पूर्वाधार विस्तार गर्न ध्यानाकर्षण

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २, मंगलबार ११:५४

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद पूर्णप्रसाद लिम्बूले सङ्खुवासभा र उदयपुर जिल्लाका विभिन्न क्षेत्रमा विद्युत् तथा सञ्चार सेवाको पहुँच विस्तार र मर्मतका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद लिम्बूले अविरल वर्षाका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिकामा विद्युत् प्रसारण लाइन र सञ्चार टावरहरूमा गम्भीर क्षति पुगेको जानकारी दिएका हुन्। विद्युत् र नेटवर्क अवरुद्ध हुँदा स्थानीय नागरिकहरू सोलार लाइटको भरमा बस्न बाध्य भएको र सञ्चार सुविधा तथा सामाजिक सञ्जालबाट पूर्ण रूपमा वञ्चित हुनुपरेको उनले बताए।

Advertisement

त्यसैगरी उदयपुरका कतिपय दुर्गम क्षेत्रमा हालसम्म राष्ट्रिय प्रसारण लाइनको पहुँच पुग्न नसकेको विषयमा पनि लिम्बूले सदनको ध्यानाकर्षण गराए। उदयपुरको लिम्चुबुङ गाउँपालिका वडा नं। ५ अन्तर्गतका साप्ला र दगला गाउँमा अहिलेसम्म विद्युत् सेवा उपलब्ध हुन सकेको छैन। ताप्ली गाउँपालिका वडा नं। १ का गुराँसे, जुके, फलाँटे र चालाङ्बेतिनी गाउँका बासिन्दा पनि बिजुलीको पहुँचबाट वञ्चित रहेको उनले उल्लेख गरे।

विद्युत् र सञ्चारजस्ता आधारभूत आवश्यकताबाट नागरिकहरू वञ्चित हुनुपरेको बताउँदै सांसद लिम्बूले यी समस्याहरूको यथाशीघ्र समाधान गर्न स्थानीय र सङ्घीय सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×