
काठमाडौं। संसद्मा प्रतिपक्षी दलहरूले जारी राखेको अवरोध हटाएका छन्। सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहलाई संसद्मा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा सहभागी हुन रुलिङ गरेपछि प्रतिपक्षी दलहरूले संसद्को अवरोध हटाएका हुन्।
बिहान ११ बजेदेखि सुरु भएको संसद् बैठकमा प्रतिपक्षी दलहरूले अवरोध गरेनन्। उनीहरूले नियमित रूपमा बैठक सञ्चालन गर्न दिए। गएको जेठ १७ गते प्रधानमन्त्री शाहले संसद् बैठकमा बोल्दै नेपालले पनि भारतको जमिन मिचेको छ भन्दै विवादास्पद अभिव्यक्ति दिएपछि त्यसयता प्रतिपक्षी दलहरूले निरन्तर संसद्मा अवरोध गर्दै आएका थिए।
प्रतिपक्षी दलहरूले संसद् सुरु हुनासाथ बैठकमा उठेर अवरोध गर्ने र प्रधानमन्त्रीलाई जवाफदेही हुन आग्रह गर्दै आएका थिए। तर प्रधानमन्त्री शाहले प्रतिपक्षी दलहरूको मागलाई वास्ता गरेका थिएनन्।
सोमबारको बैठक सुरु हुनासाथ पनि प्रतिपक्षी दलहरूले उठेर विरोध गरेका थिए। सभामुख अर्यालले प्रतिपक्षीलाई बोल्न नदिई सिधै प्रधानमन्त्री शाहलाई संसद्मा आएर जवाफ दिन रुलिङ गरेका थिए। सभामुखको रुलिङसँगै प्रतिपक्षी दलहरूले अवरोध हटाएका हुन्। आकस्मिक समयमा सांसदहरूले आफ्नाे भनाइ राखिसकेपछि शून्य समयमा सांसदहरूले आफ्ना धारणा राखिरहेका छन्।



















