
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मोहनलाल आचार्यले बजारमा देखिएको खाना पकाउने ग्यासको समस्या समाधान नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा शून्य समयमा सांसद आचार्यले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीले सदनमा दिएको जानकारी र यथार्थ अवस्था फरक रहेको बताए।
उनले भने, ‘उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीले केही समयअघि सदनमा आएर ग्यासको कुनै समस्या छैन भन्नुभएको थियो, तर व्यवहारमा अझै पनि उपभोक्ताले ग्यासको समस्या भोगिरहेका छन्। समस्या अझै समाधान भएको छैन।’ सांसद आचार्यले ग्यास आपूर्तिलाई सहज बनाउन सरकारको योजना के छ भन्दै प्रश्न गरे।
उनले ग्यासको विकल्प र विद्युतीय ऊर्जाको प्रयोगका विषयमा पनि सरकारको स्पष्ट धारणा माग गरे।‘ग्यास कसरी उपलब्ध गराउने? यसको विकल्प के हो? विद्युतीय सामग्रीको प्रयोगलाई कसरी प्रभावकारी बनाउने भन्ने लगायतका विषयमा सरकारको जवाफ चाहियो,’ उनले भने।
मन्त्रीले सदनमा समस्या छैन भनिरहँदा जनताले सास्ती पाउनु विडम्बनापूर्ण रहेको भन्दै उनले तत्काल समाधानका उपाय खोज्न सरकारलाई आग्रह गरे।



















