
काठमाडौं। बारास्थित इलाका प्रहरी कार्यालय सिमरामा कार्यरत डीएसपी दिलिप क्षेत्रीको जिम्मेवारी खोसिएको छ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले क्षेत्रीलाई प्रहरी प्रधान कार्यालय फिर्ता बोलाएर उनको ठाउँमा डीएसपी दयाकृष्ण भट्टलाई काज सरुवा गरेका छन्। सिमरा पठाइएका भट्ट यसअघि प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत थिए।
बाराको सिमरामा भदौ २ गते मृत अवस्थामा भेटिएकी तीन वर्षीया बालिका गरिमा चौधरीको खोजतलासमा प्रहरीले बेवास्ता गरेको भन्दै स्थानीयवासी आन्दोलित भएका थिए। साउन ३१ गतेदेखि हराएकी बालिकाको बलात्कारपछि हत्या भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ। बालिकाको शव जितपुर सिमरा उपमहानगरपालिका–१ स्थित एउटा खाली घरमा फेला परेको थियो।
बालिका हराएपछि जानकारी गराउँदा पनि प्रहरीले खोजतलास र अनुसन्धानमा चरम लापरवाही गरेको भन्दै स्थानीयसँगै प्रतिनिधि सभाका सदस्यहरूले समेत डीएसपी क्षेत्रीको भूमिकामाथि प्रश्न उठाएका थिए।
यसैबिच, बलात्कार र हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले जितपुर सिमरा–२ बस्ने १६ वर्षीय सुमन थापा र सिमरा–१ का २४ वर्षीय प्रोग्रेस चौधरीलाई पक्राउ गरेको छ। थापाले चकलेटको प्रलोभन देखाएर बालिकालाई लगेर बलात्कारपछि हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बाराका एसपी नरेन्द्र कुँवरले जानकारी दिए। पक्राउ परेका चौधरी म्याजिक भ्यानका धनी हुन् भने थापा सहचालक हुन्।

























