
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले स्वास्थ्य बिमा कार्यक्रमको बजेट नघटाएको स्पष्ट पारेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वनस्थलीस्थित केन्द्रीय कार्यालयमा आयोजना गरेको ‘नागरिक, नीति र नेतृत्व’ नामक संवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
कार्यक्रममा सहभागी नागरिकहरूले स्वास्थ्य बिमाबारे राखेका जिज्ञासाको उत्तर दिँदै उनले गत वर्ष अघिल्लो सरकारले स्वास्थ्य बिमाका लागि १० अर्ब रूपैयाँ बजेट छुट्याएकोमा नपुगेपछि आफूले ११ अर्ब थप गरिदिएको जानकारी दिए।
त्यस्तै यस वर्षको बजेटमा स्वास्थ्य बिमाका लागि ५ अर्ब रूपैयाँ बढाएर १५ अर्ब छुट्याइएको उनले बताए। ‘गत वर्ष १० अर्ब बजेट छुट्याइएको थियो, नपुगेपछि ११ अर्ब थपेको हुँ,’ उनले भने, ‘यस वर्ष थप ५ अर्ब बढाएर १५ अर्ब पुर्याएको छु।’
स्वास्थ्य बिमामा सरकारको दायित्व बढिरहेको भए पनि लगानीअनुसार नागरिकले सेवा पाएका छन् या छैनन् भन्नेमा समीक्षा आवश्यक रहेको उनले बताए। सरकारी अस्पतालहरूमा स्वास्थ्य बिमा कार्यक्रम निरन्तर जारी रहेको उल्लेख गर्दै उनले यसलाई थप प्रभावकारी बनाउन अध्ययन भइरहेको स्पष्ट पारे।

























