
काठमाडौं। नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको १५ औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गर्ने भएको छ।
महाराजगञ्जस्थित डा. शशाङ्क कोइरालाको निवासमा तीन दिनसम्म बसेको शीर्ष नेताहरूको अनौपचारिक बैठकले महाधिवेशनको कार्यतालिकालाई चुनौती दिँदै सर्वोच्च अदालत जाने निष्कर्ष निकालेको हो। इतर समूहका नेता एनपी साउद र प्रचार-प्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार पार्टीको आधिकारिकतासम्बन्धी विवादको मुद्दामा सर्वोच्च अदालतले पुनः सुनुवाइको अनुमति दिएकाले त्यसको टुङ्गो नलागेसम्म महाधिवेशन रोक्न माग गर्दै रिट दर्ता गरिनेछ।
यसका साथै निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पनि सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गर्ने निर्णय भएको छ। गत माघ २ गते निर्वाचन आयोगले गरेको निर्णय र गत वैशाख ४ गते सर्वोच्च अदालतको डिभिजन बेञ्चले गरेको फैसलालाई पूर्ण इजलासले पुनरवलोकनको अनुमति दिएकाले पार्टी विवाद पुरानै अवस्थामा पुगेको इतर समूहको दाबी छ।
विशेष महाधिवेशनलाई आधिकारिकता दिने निर्णय पुनरवलोकन हुने भएपछि त्यसबाट चयन भएको समितिले महाधिवेशन गराउन नपाउने भन्दै अन्तरिम आदेशको माग गर्न लागिएको नेता विश्वकर्माले बताए। यसअघि कांग्रेसको निर्वाचन समितिले १५ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्दै भदौ २४ गते वडा अधिवेशन र असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने जनाएको थियो।



















