
काठमाडौं। टीकापुर हत्याकाण्डका दोषी रेशम चौधरीलाई आममाफी दिने तत्कालीन सरकारको निर्णयविरुद्ध परेको रिटमा सुनुवाइका लागि सर्वोच्च अदालतमा पेसी तोकिएको छ। न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नृपध्वज निरौलाको संयुक्त इजलासमा उक्त मुद्दाको सुनुवाइका लागि पेसी तय गरिएको हो। साढे दुई वर्षदेखि निरन्तर पन्छाउँदै आइएको यो रिटलाई अग्राधिकार दिँदै पेसी सूचीमा राखिएको छ।
टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नि शारदा कडायतले २०८० जेठ १६ गते सरकारको निर्णयलाई चुनौती दिँदै सर्वोच्च अदालतमा रिट दर्ता गराएकी थिइन्। त्यसपछि २०८० जेठ २३ गते न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारी गर्दै मुद्दालाई अग्राधिकार दिएको थियो।
सम्बन्धित सरकारी निकायहरूले २०८० साउन ८ भित्रै लिखित जवाफ पेस गरिसकेका भए पनि त्यसयता यो मुद्दाको सुनुवाइ हुन सकेको थिएन। तीनै तहका अदालतबाट जन्मकैदको सजाय पाएका चौधरीलाई पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तत्कालीन सरकारको सिफारिसमा राष्ट्रपतिबाट गणतन्त्र दिवसका अवसरमा आममाफी दिइएको थियो।

























